सर्पको टोकाइबाट समयमै उपचार नगर्दा मृत्यु हुनेको संख्या बढ्दो

मङ्गलबार, १७ साउन २०७४

 

रुपन्देही,  विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो ।

बुटवलस्थित लुुम्बिनी अञ्चल अस्पतालमा पछिल्लो सात वर्षमा ६७ जनाको मृत्यु भएको अस्पतालको तथ्याँक छ ।

यो आवमा १९ जनाको मृत्यु भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा.राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालमा उपचार गर्न ढिला गर्नु नै मृत्युको मुख्य कारण भएको बताए ।

उनले भने “ढिलो अस्पताल आउँदा सर्पको विष शरीरका विभिन्न भागमा पुगिसकेको हुन्छ, अनि मृत्यु हुनसक्छ ।” गत वर्षको साउनदेखि ७४ असारसम्म अस्पतालमा विषालु सर्पले डसेका १५५ जना उपचार गर्न आएकामध्ये १९ जनाको मृत्यु भएको थियो । पच्चिस जनाको भने यहाँ उपचार हुन नसकेकाले अन्यत्र पठाउनु परेको थियो ।

उक्त अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार आव २०७२/७३ मा विषालु सर्पले १४९ जनालाई डसेकामा १३ जनाको मृत्यु भएको थियो भने आव ०७१/७२ मा विषालु सर्पले १२३ जनालाई डसेकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । आव ०७०/७१ मा विषालु सर्पले एक सय २६ जनालाई डसेकामा तीन जनाको मृत्यु भएको थियो ।

अस्पतालमा उपचार गर्न आएका अधिकांश अर्थात ८५ प्रतिशत विषालु सर्प राजा साँपले र १० प्रतिशतलाई गोमनले टोकेको पाइएको सो अस्पतालले जनाएको छ । सर्पले टोकेका सबैभन्दा बढी रुपन्देही कपिलवस्तु र नवलपरासीका भएपनि रोल्पा, रुकुम, सल्यान र दाडबाट समेत उपचार गर्न यही आउने गरेको सूचना अधिकृत रेग्मीले बताए ।

यस अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेसँगै बेला बेलामा एन्टिस्नेक भेनम उपलब्ध नहुँदा अस्पतालले अन्यत्र पठाउनु परेको छ । अस्पतालमा आउने सर्पले डसेकामध्ये टाउको, हात, घाँटीमा डसेका बिरामीमा धेरै जोखिम हुने अस्पतालका प्रमुख परामर्शदाता डा विष्णु पौडेलले बताउनुभयो । उनका अनुसार ती अंगको क्रियाशीलतासँगै सर्पको विष पनि अन्य शरीरका अंगमा जाने हुँदा मृत्यु हुने सम्भावना बढी हुन्छ । रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको