हाउडे ‘तीज गीत’- उट्पट्याङ शब्द, उच्छृंखल भिडियो

शनिबार, २१ साउन २०७४

 

पोहोर लगाएकी फरिया, छोपिएछ खुट्टा
अहिलेको तीजमा छपक्क कट्टु
कट्टुमा नि, बुट्टा

०००

‘साडी लाउँदा हेर्छ केटा, आँखा तानीतानी

फेसबुकमा अपलोड गर्छन्, सेल्फी हानीहानी
चुरा नाडीमा झन् सेक्सी देखियो
मलाई साडीमा झन् सेक्सी देखियो..।’

०००

‘छोटाछोटा लुगा लाउने, सबै अंग देखाउने
त्यसैमाथि भएन, ट्याटु लेखाउने
बाउको इज्जत छ भने विकृति हटाइदेउ
अब चाइनाले, लामो लामो लुगा बनाइदेउ ।’

 

अहिले यस्तै हाउडे गीतको भिडियोले युट्युवलाई ‘राताम्य’ बनाएको छ । केहि सातायता मात्र दर्जनौँ यस्ता गीत अपलोड भएका छन्, जसमा भद्दा ठट्यौलीको भरमार छ । उदेकलाग्दो चाहिँ के भने, यी सबै ‘तीज गीत’ हुन् ।

यी गीतको भाकामा तीजको छनकै मिल्दैन । शब्दमा तीजको मर्म उनिएको पाइदैन । नृत्यमा तीजको फ्लेबर फेला पर्दैन । बरु, उत्तेजक र द्विअर्थी शब्द थोपरिएको छ । उच्छृंखल भिडियो बनाइएको छ । लाग्छ, यी गीतहरुले तीजकै धज्जी उडाइरहेका छन् ।

 

खै मीठास, खै मर्म ?

महिलाहरुले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो, तीज । तीज गीतको मौलिक भाका छ, मर्म छ ।

त्यसो त कुनै पनि गीत र भाकाले निश्चित परिस्थिति, परिवेश, कालखण्ड, भूगोल आदिको प्रतिनिधित्व गर्छ । तीज गीतको पनि यस्तै मौलिक विशेषता छ । यसको गाउने समयसीमा पनि छ । नाग पञ्चमीदेखि पञ्चमीसम्म तीज गीत गाउने प्रचलन छ । खासगरी महिलामाथि हुने उत्पीडन, ज्यादतीलाई गीतमा उनेर गाइन्छ, तीजमा । महिलाहरुले वर्षभर भोगेका दु:ख, पीडा, व्यथा, अपहेलना, अप्ठ्यारालाई गीतको माध्यामबाट उजागर गर्ने मेसो हो, तीज ।

यहि मेसोमा महिला सशक्तिकरण, जागरणको कुरा पनि उठाइन्छ । खासमा लैंगिक समानताका निम्ति तीज गीतले खास अर्थ राख्छ । तर, अहिले गाइने गीतमा यस्ता कुनै पनि विशेषताहरु झल्किदैनन् ।

युट्युवमा हेर्नुहोस्, अपवाद बाहेक अधिकांश गीतमा तीजको मर्म समेटेको पाइदैन । तीज गीतको नाममा ‘केरा’, ‘ललिपप’ जस्ता द्विअर्थी शब्दावली राखेर बेसुरमा स्वर घुमाइएको छ ।

‘तीजको लहर आयो बरी लै’ जस्ता मीठास र मर्म बोकेका गीतहरुको खडेरी छ ।

 

गायक-गायिका बन्ने पर्व !

‘तीज गीत’को यो भड्किलो श्रृखलामा चल्तापूर्जा ज्योति मगरदेखि नव-प्रवेशीहरुको ठूलो झुन्ड छ ।

तीज भनेकै ‘गायक बन्ने’ पर्व जस्तो भएको छ । जसले पनि गाएका छन्, जे पनि गाएका छन् । कोहि ‘मलाई विगार्‍यो छोटो जामाले’ भन्दै स्वर घुमाइरहेका छन्, कोहि ‘ख्वाप्पै मुखमा हाल्छु केरा काटेर, हे घुँडा देखियो, जामा फाटेर’ भन्दै उफ्रिरहेका छन् ।

तीज गीतको मर्मलाई बचाउने वा तीजलाई उल्लासमय बनाउने भन्दा पनि ‘गायक बन्ने’ र ‘भिडियोमा अनुहार देखाउने’ लोभले उनीहरुलाई कुतकुत्याएको प्रष्ट हुन्छ ।

तीजको तिथी नजिकिएसँगै को भन्दा को कमको शैलीमा ‘तीज गीत’ रेकर्ड गर्ने, भिडियो बनाउने र युट्युवमा अपलोड गर्ने होड चलेको छ । यसरी अपलोड भएका तीज गीत हेर्दा लाग्छ, हाम्रो समाज गिताङ्गेहरुको ठूलो झुन्ड हो । यहाँ गायक/गायिका पैदा गर्ने कारखाना नै छ ।

 

‘तीज गीत’ भनेर अपलोड भएका धेरैजसो भिडियो हल्काफुल्का मनोरञ्जनले भरिएको छ । नानाथरी शब्द ओकलेर होस् वा अनेकन नौटकी देखाएर, जवरजस्ती हँसाउने प्रयास गरिएको छ । हाँस्य टेलिशृंखलामा देखिने केहि कलाकारहरुले यसमा राम्रै ‘भाउ’ पाएका छन् । उनीहरुको उट्पट्याङले ‘तीज गीत’ रत्यौली जस्तो हुन पुगेको छ ।

यी कलाकारहरुलाई ‘स्पेश’ दिनका लागि गीतको भिडियोलाई नाटकीय बनाउन खोजिएको छ । गीतसँग तालमेल नै नमिल्नेगरी संवाद र दृश्यहरु राखिएको छ । विचित्रको गेटअप, अनौठो हाउभाउ र बेढंगको प्रस्तुतीले ‘तीज गीत’माथि ठट्टा गरिएको छ ।

 

- Source: Onlinekhabar


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको