ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सुन्तलीको यस्ताे प्रश्न

बुधबार, २५ साउन २०७४

 

सुन्तली: उर्जा मन्त्रालयमा तपार्इँभन्दा अगाडि आएकाले केही राम्रा काम गरेका छन् । तपार्इँबाट जनताले थप के आशा गर्ने ?

मन्त्री शाही: अवश्य हो । मभन्दा अघिल्लो मन्त्रीको कार्यकालमा ऊर्जा क्षेत्रमा राम्रो काम भएको छ । परिवर्तन आएको छ । अहिले काठमाडौंलगायत केही सहरमा लोडसेडिङ अन्त्य भएको छ । अबको हाम्रो योजना देशैभर लोडसेडिङ अन्त्य गर्नु हो । उद्योगधन्दा, कलकारखानालगायत अत्यावश्यक ठाउँमा अब लोडसेडिङ हुँदैन । हामी अहिले लोडसेडिङ अन्त्यको प्लानिङ गरिहेका छौँ । कतिपय विद्युत् चुहावट हुन्छ । साथै, जनतालाई महसुल तिर्न घन्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता छ । अब स्मार्ट सिस्टम जडान गरेपछि सबै चुहावटको जानकारी हुन्छ । डिस्कनेक्ट र चोरीका कुरा रोकिन्छन् । ठूला सहरहशमा अन्डरग्राउन्ड तार बिछ्याउने, जनतालाई विद्युत् उपयोगमा मितव्ययिता अपनाउन प्रेरित गर्ने, कमभन्दा कम भोल्टेज भएका एसी मेसिन चलाउन लगाउने काम हुन्छ जसले गर्दा महसुल कम उठ्छ ।

 

अर्को विद्युत् उत्पादनको कुरा छ । अहिले जुन परियोजना सञ्चालनमा छन्, तिनीहरूमा ढिलासुस्ती भइराखेको छ । धेरै कारणले काम गर्न सकिराखिएको छैन । यिनीहरूलाई जतिसक्दो चाँडो सम्पन्न गराउने योजना छ । त्यस्तै, आन्तरिक लगानीलाई पहिलो प्राथमिकता दिने, जनताको लगानीलाई प्रोत्साहित गर्ने, सरकारको बजेटलाई सदुपयोग गर्दै अघि बढ्ने लक्ष्य छ । त्यसैगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि पनि सहज रूपमा काम गर्न सक्ने वातावरण सिर्जना गराउने, झोलामा खोला राखेर हिँड्ने माफियाहरूलाई समयसीमा तोकेर लाइसेन्स खारेज गराउने आदि काम हुन्छ । साथै, सिँचाइ, खानेपानी र विद्युत्का बहुउद्देश्यीय परियोजना अगाडि बढाउने योजना छ ।

सुन्तली: कर्मचारीहरूको चलखेल र लेनदेनले तपाईंलाई कमजोर बनाउने सम्भावना पनि छ । बच्न के–कस्ता उपाय छन् ?

मन्त्री शाही:  विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका निकायमा दलाल र माफियाहरूको घेराबन्दी छ । म त्यो सबै सम्पर्क र सम्बन्ध तोडिदिन्छु, कारबाही गर्छु, कर्मचारीतन्त्र सुधार्छु र मन्त्रालयले बनाएका योजनामा उनीहरूको भूमिका निर्वाह गराउँछु । 
सुन्तली: तपाईं दुर्गम जिल्लाको नेता । जिल्लालाई प्राथमिक दिनुहुन्छ कि सिंगो देशलाई ?

मन्त्री शाही: मुख्य त देश नै भयो । मन्त्री भइसकेपछि सिंगो देशलाई हेर्नुपर्छ । अझै पनि कतिपय ठाउँका जनताले बिजुलीबत्ती पनि देखेका छैनन् । सहर र गाउँलाई जोड्नका लागि सडक र बिजुली अनिवार्य चाहिन्छ । अब मेरो क्षेत्रको हकमा कर्णाली अञ्चलमा राष्ट्रिय प्रसारण लाइन पु¥याउने लक्ष्य छ । अहिले सो क्षेत्रमा अढाइ सय किलोवाटको मात्र बत्ती बलेको छ । त्यसले पुगेको छैन । वैकल्पिक व्यवस्थापन गरिनेछ । फुकोट कर्णाली हाइड्रोपावरमार्फत विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यसले स्वतः मेरो जिल्ला (कालिकोट)मा विद्युतीकरण हुनेछ ।

सुन्तली: नेपालको ऊर्जा क्षेत्रमा विदेशी आँखा लागेको छ भन्छन् । मन्त्री बनेपछि केही थाहा पाउनुभयो ?

मन्त्री शाही: विदेशीका आँखा त पहिलेदेखि नै लागेको थियो । मेरा पछिल्ला धारणा सुनेपछि उनीहरू आतंकित भएका छन् । लामो समयदेखि लाइसेन्स लिने तर काम नगर्ने विदेशी तथा स्वदेशी लगानीकर्ताले काम नगरे उनीहरूको लाइसेन्स खारेज गरिनेछ । राम्रो पोलिसी ल्याएर राम्रा विदेशी लगानीकर्तालाई प्रोत्साहित र सुरक्षित गरिनेछ । जसले गर्दा उनीहरू लगानीका लागि आकर्षित हुनेछन् ।

सुन्तली: प्रसंग बदलौँ । एकातिर करोडको बिटो अर्कोतिर बन्दुक कुन रोज्नुहुन्छ ?

मन्त्री शाही: दुवै रोज्दिनँ । कुनै वेला मैले बन्दुक उठाएको पनि देश र समाजका विसंगतिविरुद्ध हो । अब म वैचारिक हतियार मात्र रोज्छु । जसले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरोस् ।

सुन्तली: क्रान्तिको वेला धेरै टावर भत्काउनुभयो । अहिले गल्ती भएछ भन्ने लाग्दैन ?

मन्त्री शाही: स्वाभाविक ण्ज्ञढज्ञपमा ध्वस्त नभई निर्माण पनि हुँदैन । भत्काएपछि नै नयाँ बने । अहिले हेनुस् तीव्र विकास भइराखेको छ ।

सुन्तली: श्रीमतीले कि मेरो भाइलाई जागिर लगाइदेऊ कि डिभोर्स देऊ भने के गर्नुहुन्छ ?

मन्त्री शाही: त्यस्तो बार्गेनिङ आयो भने डिभोर्स नै हुन्छ । तर, आशा छ श्रीमतीबाट त्यस्तो कुरा आउँदैन होला ।

सुन्तली: राजनीति नगरेको भए के गर्नुहुन्थ्यो ?

मन्त्री शाही: म राजनीतिज्ञ नभएको भए बिजनेसम्यान हुन्थँे होला । व्यवसायी बनेर केहीलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी पनि गर्थेँ होला । समाजसेवी बनेर असहायको सेवा गर्ने सम्भावना पनि थियो ।

सुन्तली: नेता र अभिनेताबीच कस्तो  सम्बन्ध हुनुपर्छ ?

मन्त्री शाही: कलाकारको उद्देश्य समाजमा रहेका विकृति र विसंगति हटाउने हो । उनीहरूले सभ्य समाज निर्माणका लागि कला तथा अभिनयमार्फत आफ्नो क्षमता प्रस्तुत गरेका हुन्छन् । नेता पनि समाजका विकृति र विसंगतिविरुद्ध निरन्तर लागिरहने अभियन्ता हो । दुवैको बिन्दु समाज रूपान्तरण हो । मात्र तरिका फरक हुन्छ ।


Source: दिपेन्द्र सापकोटा  | Nayapatrika


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको