यसरी जोगाउन सकिन्छ कलेजो

मङ्गलबार, २६ पुष २०७३

 

डा. अनिलकुमार मिश्र

शरीरको आन्तरिक अंगमध्ये कलेजो सबैभन्दा ठूलो अंग हो । पाचन प्रक्रियामा सबैभन्दा महत्वपूर्ण काम यसको हुन्छ । हरेक घरमा एक जना पाचनसँग समस्या भएका मानिस हुन्छन् । त्यो कलेजोका कारण उत्पन्न हुने समस्या नै हो । कतिपयलाई कब्जियतको समस्या हुन्छ, कतिपयलाई अपचको समस्या हुन्छ ।

 

कुनै पनि हानिकारक चिजले कलेजोलाई बिगारिदियो भने पाचन प्रक्रियामा नै खराबी हुन्छ । यसले गर्दा डकार आउने, पेट फुल्ने, ढुस्स हुने, ग्यास बन्ने समस्या हुन्छ । मनमा चिडचिडापन आउँछ । जुन कारणले मानिसको दैनिकी नै बिग्रन जान्छ । हाम्रो शरीरमा २२ फिट लामो आन्द्रा हुन्छ, त्यो आन्द्राभित्र हुने पाचनको व्यवस्था मिलाउने नै कलेजो हो ।

 

 

आफ्नै कारणले बिग्रन्छ कलेजो

कलेजोलाई बिगार्ने हामी आफैँ हौ । कलेजेको प्रमुख सत्रु भनेकै मद्यपान हो । तर, हामी यो थाहा हुँदाहुँदै पनि सेवन गरिरहेका हुन्छौँ ।कतिपय समुदायमा घरमा आफैँ रक्सी बनाउने र खाने चलन छ ।

 

रक्सीले राम्रो गर्दैन भन्ने पनि थाहा छ अनि उत्पादन पनि गर्दै छौ । एक त उत्पादनमा पनि खर्च लाग्यो, पछि खाएपछि उपचार गर्न पनि खर्च लाग्यो । दुवैमा हामी आफैँ बेकामको खर्च गरिरहेका छौँ । तर, यसो भन्दैमा अल्कोहल खानै नहुने होइन । औषधिमा पनि अल्कोहलको मात्रा हुन्छ । तर, त्यो अल्कोहलले मान्छेलाई खाने गरी खानु भएन ।

 

ठीक मात्रामा खाएको छ र कलेजोको रोग छैन भने त्यती असर गर्दैन । तर, हाम्रो समाजमा नसा लाग्नका लागि मद्यपान गरिन्छ । रक्सीले कलेजोलाई मात्र होइन, शरीरको सबै अंगलाई खराब गर्छ । यसले नसा, मस्तिष्क सबैलाई बिगार्छ । त्यसका साथै एक्सिडेन्डजस्ता घटना हुन्छ । अहिलेको पुस्तामा दूध, दही खानुको सट्टा जाँडरक्सी खाने चलन बढेको छ । जसले गर्दा युवाहरूमा नसा लत बढेर इन्जेक्सनबाट लागुपदार्थ लिने अवस्थामा पुग्छन् ।

 

त्यसरी इन्जेक्सनबाट लागुपदार्थ लिँदा विभिन्न किसिमका सरुवा प्राण घातक रोग सर्छ । हेपाटाइटिस बी, सी जस्तो कलेजोलाई बिगार्ने दीर्घ रोग पनि इन्जेक्सनको माध्यमबाट सर्ने गरेको पाइन्छ । अस्पतालमा उपचार गर्न आउनेहरू हेपाटाइटिसका बिरामीमध्ये ९० प्रतिशत इन्जेक्सनबाट लागुपदार्थ सेवन गर्ने पाइएको छ ।

 

अल्कोहोलिक लिभर डिजिज (एएलडी)

नेपालको सबैभन्दा ठूलो कलेजोको समस्या भनेकै अल्कोहलिक लिभर डिजिज (एएलडी) हो । अल्कोहल सेवन गर्नेमा कलेजो बिग्रने समस्या ८० प्रतिशत हुन्छ । नियमित जाँड रक्सी खाँदै गयो रंग फेरिदै अन्तत ९० प्रतिशतसम्म लिभर खराब हुन्छ ।

 

रक्सी खान छोडेमा नर्मल अवस्थामा आउँछ र औषधिले निको पार्छ । तर, रक्सी खान नछाडे फ्याब्रिक (धागोको रेसाजस्तो कडा) हुँदै जान्छ । यसलाई फ्याब्रोसिस भनिन्छ । यो अवस्थाबाट फर्काउन गाह्रो हुन्छ ।

 

तर, केही समयका लागि त्यही रोकथाम गर्न सकिन्छ । रक्सी थप्दै गयो भने फर्कनै नसक्ने गरी अन्तिम अवस्थामा पुग्छ । त्यसलाई हामी सिरोसिस अवस्था भन्दछौँ । यस्तो भएमा ट्रान्सप्लान्टको विकल्प छैन । यो अन्तिम चरण हो ।

 

कलेजोका रोगका लक्षण

  1. शरीर पहेँलो हुँदै जाने
  2. आँखा पहेँलो हुँदै जाने
  3. हातखुट्टा सुनिने
  4. माथिल्लो पेटमा समस्या हुने
  5. पेट ढुस्स हुने
  6. बान्ता हुने
  7. अस्वाभाविक तौल घट्ने
  8. कहिलेकाहीँ कुनै लक्षण नै नदेखिने हुँदा रगत परीक्षणबाट मात्र थाहा हुन्छ ।

 

जोगिनका लागि के गर्ने ?

  1. मदिरापान छाड्ने
  2. पोषणयुक्त खाना खाने
  3. रोगलाई जटिल अवस्थामा पुग्न नदिने, त्यसका लागि समय–समयमा रगत परिक्षण गर्ने
  4. कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको