स्तन र सम्भोग – भ्रम,यथार्थ, समस्या र समाधान

बिहिबार, ०१ भदौ २०७४

 

म १९ बर्षको भएँ र कलेजमा अध्ययन गर्दैछु । यो उमेरमा साथीहरूसंग यौनका बारेमा छलफल हुन्छ नै, अनि शरीरमा भएका परिवर्तन र सौन्दर्यका बारे पनि । मलाई आफ्नो स्तनको विकासबारे निकै चासो थियो । तर अहिले सोचेअनुरुप स्तनको विकास भएको जस्तो लागेको छैन । आफ्नो स्तन साथीहरूको भन्दा सानो र केही गिलो भएको जस्तो लाग्छ । स्तन सानो भएपछि केटाले मन नै नपराउने हुन् कि ? सुनेको छु केटालाई ठूलो स्तन मन पर्छ रे । विवाह हुन नै गाह्रो हुने हो कि ? स्तन सानो भएकाले भावी पतिले मन नपराउने र वैवाहिक जीवनमा नै समस्या पर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।


पत्रपत्रिकामा छापिने चित्र अनि चलचित्रमा आउने महिलाको स्तन निकै नै आकर्षक लाग्छन् । तर आफ्नो त्यस्तो नभएको कुराले पनि सताएको छ । त्यस्तै स्तन बनाउन मन लाग्छ । स्तन सानो भएकाले आफू सुन्दर नभएकी जस्तो पनि लाग्छ । यसले गर्दा साथीहरू संग हाँसखेल गर्न वा रमाईलो गर्न पनि मन नलाग्ने भएको छ । यस्ता कुरा खुलेर भन्ने कुरा पनि भएन । स्तनको आकार कसरी बढाउन सकिएला कृपया बताईदिनु भए आभारी हुने थिएँ । नमिता, दाङ स्तन के हो ? नमिताजी, तपाईजस्तै नै कैयौं किशोरी तथा युवतिलाई आफ्नो स्तनको आकार वा नापका बारेमा पीर परेको हुन्छ ।

स्तन महिलाको एक सहायक प्रजनन अङ्ग हो भन्ने त हामी सबैलाई थाहै छ । महिलाको छातीमा भएका यी दुईवटा विशेष ग्रन्थीहरु शिशुको पोषणका लागि जति महत्वपूर्ण छन्, यौनको दृष्टिकोणले पनि त्यति नै महत्वपूर्ण छन् । शिशुको पोषणका लागि आवश्यक दुध उत्पादन गर्ने भएको हुनाले नै यसलाई सहायक प्रजनन अङ्गको रुपमा लिईएको हो । तर स्तन यौन आनन्द दिने अङ्ग पनि हो । तर स्तन के हो भन्ने बारेमा कम व्यक्तिलाई मात्र पर्याप्त जानकारी रहेको पाईन्छ । त्यसैले धेरै नै अलमल, अन्योेलमा पर्ने गर्छन् र अनावश्यक रुपमा पीर मात्रै गर्ने होईन उचित जानकारी नपाउँदा हीनताबोधको शिकार हुन सक्छन् । त्यसैले स्तनको कार्य तथा बनावटको वारेमा एकछिन कुरा गरौं ।

चिकित्सा विज्ञानको दृष्टिमा स्तन ग्रन्थी बोसो, तथा रेशीय तन्तुहरूले बनेको पिण्ड हो । यो छातीको मांशपेशीको भित्तामा रेशीय तन्तुको स्ट्र्याण्डको मद्दतले टाँसिएको हुन्छ । स्तनभरि नै प्रमुख रुपमा बोसोयुक्त तन्तु हुन्छ र यसले नै स्तनलाई कमलो वा नरम बनाएको हुन्छ र एक निश्चित आकार दिएको हुन्छ ।

 

स्तनको विकास कसरी हुन्छ ?

भु्रण अवस्थाको ६ हप्तामा यसको विकास शुरु भए पनि किशोरावस्थामा नपुगेसम्म केटीमा स्तनको विकास शुरु भईसकेको हुँदैन । वाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छन् । तर किशोरावस्थामा पुगेपछि केटीहरुमा स्तनको विकास तीब्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ बर्षको उमेरमा शुरु भएर १५ बर्षमा पूरा हुन्छ । सामान्यतया २–३ बर्षको चाँडो ढिलो हुन सक्छ । इस्ट्रोजन र प्रोजेस्टेरोन जस्ता रागरसहरुको प्रभावका कारणले यी परिवर्तन देखिन्छन् । पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रुपमा समतल नै हुन्छ भने शुरुको किशोरावस्थामा मुन्टो वरिपरीको भाग बढ्न थाल्छ, स्तनको अन्य भाग पनि भरिएर आउन थाल्छ । पछिल्लो किशोरावस्थामा भने स्तनमा दुध बनाउने ग्रन्थीको विकास हुनुको साथै बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टो वरिपरीको भागसम्म भएर जान्छ ।

स्तनको विकासलाई विभिन्नका चरणमा वर्गिकरण गर्ने गरिएको छ स्तनको विकासको कुरा गर्दा आकृति, आयतनलाई नै ट्यानर स्टेज भनिने ५ चरणमा बाँडिएको छ ।


chhati

पहिलो चरण– यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यस अवस्थामा स्तनको मुण्टोमात्र केही उठेको हुन्छ ।

दोस्रो चरण– बड अर्थात भर्खरैको कोपिला जस्तो देखापर्छ, स्तन र मुण्टो अलिकति माथि उठेको हुन्छ । एरोला (मुण्टो वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठुलो भएर आउँछ ।

तेस्रो चरण– स्तन अझै बढ्ने र ग्रन्थीय तन्तु बन्न थाल्दछ ।

चौथो चरण– एरोला र मुण्टो अझै उठ्ने (बढ्ने) र स्तनको सबै भागमा अझ वृद्धि हुने ।

पाँचौ चरण– स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, एरोला स्तनको अन्य भागको सतह समान हुने र मुण्टो मात्र उठेको स्थितिमा हुन्छ ।

स्तनको आकारको महत्व –
स्तन मानव शरीरको एक अङ्गको रुपमा मात्र नभई यसको सांकेतिक महत्व बढी छ । सन्तानको पोषण गर्ने अङ्गको रुपमा भएर पनि यसले विशेष महत्व पाएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको नारीत्वसंग नै जोडिएको ठान्ने गर्दछन् । नारीको सुन्दरतालाई यससंग जोड्ने गरिन्छ त्यसैले यसको नाप र आकारसंग व्यक्तिको आत्मविश्वास जोडिएको हुन्छ ।

विशेष गरेर किशोरावस्थामा हाम्रो आफ्नो शरीरप्रति र त्यसमा भईरहेका तीव्र परिवर्तनप्रति मानसिक वा भावनात्मक रुपमा सामञ्जस्यता ल्याउन नसकिएको हुनाले पनि अनेक किसिमका प्रश्न उठ्ने गर्दछन् । कतिपय व्यक्तिले स्तनको नाप र आकार सामान्य भए पनि सानो भयो कि भनेर पीर लिने गर्दछन् । विशेष गरेर आफ्ना साथीहरूसंग तुलना गर्दा सानो भएमा यस्तो हुनसक्छ । केही किशोरीलाई सुरु सुरुमा आफ्नो स्तन सामान्य नै भए पनि ठूलो जस्तो लाग्न सक्दछ । यी कुराहरू आफ्नो शारीरिक स्वरुपमा सन्तुलनको स्थिति आउनुभन्दा पहिलेको स्थितिलाई दर्शाउँछ । आफू यौनको दृष्टिकोणले पर्याप्त आकर्षक छु वा छैन भन्ने कुरासंग जोडिएको हुन्छ । भावी यौन जोडीको दृष्टिमा पर्याप्त यौनआकर्षक होईएला कि नहोइएला भन्ने कुराले सताउन थालेपछि त समस्या चर्को बन्नसक्छ । कसै–कसैका लागि त यो समस्या यति गम्भीर बन्छ कि आत्महत्याको विचारसम्म पनि आउन थाल्छ ।

स्तनको आकारप्रकार व्यक्ति–व्यक्तिअनुसार हाम्रो शरीर तथा अन्य अंगको आकार तथा प्रकारमा फरक भए जस्तै स्तनको आकार तथा नापमा धेरै नै भिन्नता पाईन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला । त्यसैगरी गरी आकृति पनि गोलाकारदेखि झोल्लिएको हुनसक्छ । कसैमा स्तनको विकासको गति शीघ्र हुन्छ भने कसैमा सुस्त । गर्भवति र स्तनपान गराइरहेको अवस्थामा यो अझै ठूलो भएको हुन्छ । व्यक्तिको वजन धेरै भएमा यसको साइज पनि ठूलो हुन्छ । सामान्यतया स्तनको आकार वा नापलाई विभिन्न कुराले प्रभावित गर्ने गर्दछन् । स्तनमा तन्तुको मात्रा, वंशाणु, पारिवारिक ईतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाई वा तन्किन सक्ने गुण, रागरस (हर्मोन)हरुको प्रभाव तथा पोषणजस्ता कतिपय कुरामा भर पर्नेगर्छ । स्तनको विकासको क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र सो बेला यसका तन्तु पनि निकै नै खाँदिएको हुने भएको हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गए पछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ ।

स्तनको विकास भईरहेका बेला अनावश्यक रुपमा कसिलो ब्रा वा लुगा लगाउनु कुरा राम्रो मानिँदैन । स्तनको नापअनुसार नै ब्राको प्रयोग गर्नु पर्दछ ।

के स्तन साथीको वा चलचित्रको जस्तै हुनुपर्छ ? तपाईं हामी सबैलाई थाहै छ कि हामी सबैको शरीर, अङ्ग प्रत्यङ्ग एकै नासका छैनन् र हुँदैनन पनि । केही न केही फरक त हुन्छ नै । उदाहरणका लागि हाम्रो उचाई पनि एकैनासको हुँदैन तर केही अग्लो वा होचो हुँदैमा हामी हाम्रो जीवनमा आईपर्ने कार्य गर्नै नसक्ने त होईन नि । त्यसैगरी स्तनको आकार तथा नापमा पनि भिन्नता त हुन्छ नै । पक्कै पनि आफ्नो शरीर साथीको जस्तो वा जत्रो छैन भने तपाईंको स्तन त्यस्तै वा त्यत्रै हुनुपर्छ भन्ने कुरा गर्नु तर्कसंगत हुँदैन । बुझ्नुपर्ने कुरा के हो भने आमसञ्चारका माध्यममा अनि समाजमा हुने कतिपय छलफलमा ठूला स्तन अनि शरीर चाँहि पातली नै भएका व्यक्तिमात्र सुन्दरी हुन् भन्ने प्रचार प्रचुर मात्रामा भएको हुनाले हामीलाई आफू पनि त्यस्तै हुनुपर्ने जस्तो लाग्न जान्छ ।

चलाखीका साथ खिचिने यी चित्र वा चलचित्रमा स्तन वास्तविकभन्दा ठूला र आकर्षक देखिन्छन् । यी आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरु आम व्यक्ति भन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाईएका त्यस्ता पात्र जस्तै हुनुपर्छ भन्ने केही छैन । स्तनको नाप केही फरक प¥यो भन्दैमा नैराश्यता र हीनतावोधको शिकार बन्नु बुद्धिमानी होईन । स्तनलाई बढाउने उपाय के–के छन् त ? संसारमा स्तनलाई बढाउने वा आकर्षक देखाउन विभिन्न विधिको प्रयोग हुने गरेको देखिन्छ । जसमा मालिस, सम्मोहनदेखि शल्यक्रियासम्मका कुरा भेटिन्छ । छोटकरीमा केही प्रमुख विधिको चर्चा गरौं ।
१. मालिस वा कसरत क्रिम प्रयोग गरेर स्तन वा मुण्टोको मालिसले स्तनको आकार बढ्ने कुराको दावी गरिए पनि यसले स्थायी रुपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातिको मांशपेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा स्तन ठूलो भएको जस्तो लाग्न सक्छ तर प्राथमिक रुपमा स्तनको कपको आकारलाई परिवर्तन गर्दैन ।
२. मल्हमको प्रयोग स्तनको वृद्धि गराउने मल्हमको प्रयोग अर्को तरिका हो । उत्पादनकर्ताको भनाईमा यस्ता मल्हमले सिधै स्तनको तन्तु तथा कोषमा कार्य गरेर त्यसको बद्धि गराउछन् । खाने चक्की वा क्याप्सुलको तुलनामा बढी प्रभावकारिता हुने उनीहरूको दाबी छ । विशेष जडिबुटीवाट बनेको हुनाले नकारात्मक असर नहुने दाबी पनि उनिहरू गर्दछन् ।

३. पम्प प्रयोग गर्ने विधि

स्तनको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि बजारमा निकै चर्चा गरिन्छ । उपकरण निर्माताको भनाईमा शल्यचिकित्साको जस्तो दुखाई तथा स्वास्थ्य जोखिम विना नै यसले नतिजा दिनसक्छ । पम्पको मद्दतले भ्याकुम (कम दबाव) सिर्जना गर्दा स्तनमा भएका तन्तु वा कोष ठूला हुने र यस विधिले स्तनमा नयाँ कोषको वृद्धि हुनमा पनि सहयोग पु¥याउने भएकाले स्तनको आकार बढ्नुका साथै कसिलो हुने कुराको पनि दाबी गरेका छन् । यसको दीर्घकालिन प्रभावको वारेमा निश्चित रुपमा यसै भन्न सकिने स्थिति भने छैन ।

४. स्तन बढाउन खाने चक्कीको प्रयोग

हाल विभिन्न किमिसमका स्तन बढाउने खानेचक्की विश्वबजारमा उपलब्ध हुन थालेका छन् । जडिबुटि पनि भएको भनेर दाबी गरिएका यी औषधि निर्माणकर्ताले निकै सफल भएको दाबी गर्ने गर्छन् । तर, अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेृसन तथा वेटर विजिनेस व्यूरोले वास्तविक रुपमा यसले कार्य गर्ने कुरा प्रमाणित नभएको कुरा बताएको छ ।

५. शल्य चिकित्सा

शल्यचिकित्सा गरेर स्तनको आकारलाई बढाउन सकिन्छ । यस प्रक्रियामा सिलिकोनको खोलभित्र सिलिकोन कै जेल भएको वा नूनपानी अर्थात सलाईन भएका पोका स्तनमा राखिन्छन् । यसरी सफल रुपमा स्तनको आकार र नापमा वृद्धि भए पछि आत्मसम्मान बढेको र आफ्नो स्वरुपप्रति सकारात्मक भएको शल्य चिकित्सा गराएका महिलाहरूले भनेका छन् । कतिपय पश्चिमेली देशका नायिका, नर्तकी तथा मोडेलहरूले यस किसिमले स्तनको आकार बढाए पछि पेशामा स्थिर रहन र आय बढाउन सहयोग गरेको पनि पनि उल्लेख गरेका छन् । तर यो शल्य चिकित्साको नराम्रा असर पर्ने सक्नेतिर पनि ध्यान दिनु जरुरी हुन्छ । शल्यचिकित्सा गरेको स्थानमा दुख्ने, संक्रमण हुने, राखेको पोका वरिपरी रगत जम्ने, सो पोका फुट्ने, स्तनमा खत बस्ने, स्तन सानोठूलो हुने वा छाला चाउरिने जस्ता कुरा हुनसक्छ र पुनः शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । शल्य चिकित्साकै कुरा गर्दा, बोसीय तन्तुको इन्जेक्सन दिने पनि अर्को उपाय हो ।

स्तन आकर्षक देखाउने अन्य उपाय भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया वा अन्य उपाय नै नगरी बढी भएको जस्तो देखाउन सकिन्छ । ब्राभित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो । स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले स्तनको वास्तविक साईजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न जान्छ र सुन्दरतामा वृद्धि भएको महशुुुुस गर्दछन् । यसैगरी आफ्नो वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएको लगाउन मिल्ने साधन पनि पाईन्छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधनको प्रयोग गर्दा कपडा बाहिरवाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो वा होईन छुट्ट्याउन गाह्रो पर्छ । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साईज बढी बनाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनु पर्ने हुन्छ । के ठुलो स्तनले बढी यौन आनन्द दिन्छ ? कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसंग गाँसिएको । स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा हुन्छ ।

स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि । पुरा स्तन नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ । स्तनको विशेष गरेर मुण्टो तथा वरिपरिको भाग (एरोला) यौन सम्वेदनशील हुन्छन् । स्तनको मुण्टोलाई केहीबेर खेलाए पनि यो कडा तथा उठ्ने (उत्तेजित हुने) गर्दछ । यौन प्रतिक्रिया चक्रको प्लेटु चरणमा स्तनको आकार पनि स्पष्ट रुपमा ठूलो भएको हुन्छ । स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक पार्दैन । तर स्तन केही ठूलो भयो या केही सानोे भयो भन्दैमा यौन क्रियाकलापमा कुनै फरक पर्ने होईन ।

कतिपयलाई बैवाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त कुनै व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको सम्बन्ध र उसको अपेक्षामा भर पर्छ । ठूला आकारका स्तन भएका कति महिलाका बैवाहिक जीवन सुमधुर छैनन् भने कति साना स्तन भएका कतिपय महिलाका सुमधुर । स्तनको आकार आफै मात्र यसको निर्णायक आधार होईन ।

अन्तमा, प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति छैन भने त्यसैको अनावश्यक रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन । मन बलियो बनाई आफ्नो शारीरिक स्वरुपप्रति सहज भई अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको