के छन् अन्डरवर्ल्ड डन दाउदका नेपाल कनेक्शन ?
शुक्रबार, २३ भदौ २०७४

काठमाडौं, एउटा हवल्दारका छोरा बाबुको चड्कनका कारण विश्वविख्यात अन्डरवर्ल्ड डन ‘दाउद इब्राहिम’का नामले परिचित छन् । उनको सेता र काला लगानीको कनेक्शन नेपालका विभिन्न ठाउँमा रहेको दाबी गरिएको छ ।
काठमाडौंमा रहेका क्यासिनोदेखि ठूला घरानाका व्यापार, सपिङ मल, सुन पसल र मिडियामा उनको लगानी रहेको थियो । भारतीय प्रशासनको तिव्र खोजीमा रहेका दाउदलाई पाकिस्तानले संरक्षण गरेको बताइएपनि उनी दुबईमा रहेको समाचारहरूमा उल्लेख छ । बृद्ध भइसकेका दाउदको स्वास्थ्य कमजोर बनिरहेपनि उनको सञ्जालको लगानी सिंगापुर, साउदी अरब, कतारसम्म फैलिएको सुरक्षा एजेन्सीहरूले जनाएका छन् ।
मुम्बई बमकाण्डका मुख्य दोषी ठहर गरिएका दाउदको नेपालमा स्पेशटाइम नेटवर्कमा लगानी रहेको अभियोगको आधारमा नै भारतीयले त्यसका सञ्चालक जमिम शाहको हत्या गरेको थियो । पछिल्लो पटक नक्कली नोटको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका युनुस अन्सारीले चलाएको मिडियामा पनि दाउदको लगानी रहेको भारतीय पक्षले अभियोग लगाएको थियो । अहिले सोही अभियोग वीरगञ्जका नेशनल मेडिकल कलेज सञ्चालक बसरुद्दिन अन्सारीलाई लगाइएको छ ।
युनुसमाथि केन्द्रिय कारागारमा भारतीय एजेन्ट मनमित सिंहले गोली प्रहार गरेका थिए । सोही गोलीकाण्डको विषयमा छानविनका लागि गठित आयोगले तयार पारेको प्रतिवेदनका अनुसार दाउदको नेपाल कनेक्शनका थप विषय खाुलेको छ । दाउदको भैरहवा मेडिकल कलेज, सिटी सेन्टर, विशालबजार भवनअगाडि पशुपति ज्वेलर्सको नाममा केही मारवाडीले सञ्चालन गरेका ज्वेलरी पसलमा समेत लगानी रहेको दाबी गरिएको छ ।
पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी र सदस्यहरूमा तत्कालीन नायव महान्यायाधिवक्ता प्रेमराज कार्की र तत्कालीन प्रहरी नायव महानिरीक्षक कुवेरसिंह रानाको छानविन समितिले यस्तो प्रतिवेदन गृहमन्त्रालयमा बुझाएको थियो । मनमित सिंह भारत सरकारले प्रायोजनमा पठाएको गुन्डा रहेको दाबी गरिएको छ । अहिले मनमित कहाँ छन् भन्ने जानकारी गृहले दिएको छैन ।
अहिले एमालेबाट वीरगञ्जमा मेयरका उम्मेदवार रहेका बसरुद्धिन अन्सारीका विभिन्न लगानीमा दाउदको रकम रहेको दाबी गरिएको छ । तर, दाउदले प्रष्ट रूपमा नेपालका विभिन्न क्यासिनो र व्यापारीक क्षेत्रमा लगानी गरेको बताइँदै आएको छ ।
भारतीय मिडियाहरूका अनुसार दाउदले आफ्ना लगानीका क्षेत्र विस्तार गरिरहेका छन् । पछिल्लो समाचारअनुसार दाउदले बेलायतमा निर्माणाधिन मलमा लगानी गरेका छन् । क्रिकेटको सट्टाबाजीदेखि हफ्ता असुलीसम्मका ‘किङ’ भनेर प्रचारित दाउद डि कम्पनीका फान्डर हुन् । भारतको महाराष्ट्रको मुम्बई सहरको डोंग्रीका दाउदलाई भारतीय सुरक्षा निकायले अहिलेसम्म फेला पार्न सकेको छैन । उसले पाकिस्तानले दाउदलाई संरक्षण गरेको दाबी गरेपनि पाकिस्तान सरकारले बारम्बार उक्त आरोपको खण्डन गर्दै आएको छ ।
बलिउडसँग राम्रो कनेक्सनमा रहेका दाउदले अभिनेत्री ममता कुलकर्नीका पति विकि गोश्वामीलाई पक्राउ गरि नियन्त्रणमा राखेका समाचार पनि बाहिर आएका थिए । दाउदकाविरूद्ध भारतमा खडा भएको अर्को आपराधिक गिरोह छोटा राजन समूहका सहयोगीको अभियोग लगाएर गोश्वामीलाई पक्राउ गरिएको समाचारहरूमा उल्लेख थियो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्