यी अभियुक्त जसलाई भारतबाट नेपाल ल्याइयो

आइतबार, २५ भदौ २०७४

 

नेपालले गम्भीर प्रकृतिका अपराधमा संलग्न अभियुक्तलाई भारतबाट पक्राउ गरी ल्याउने गरेको छ । तीन वर्षअघि प्रहरीले लखनउका विधायक विनायक सिंहको घरमा बस्दै आएका ‘मोस्ट वान्टेड’ डन रमेश बाहुन भनिने सुजन पौडेललाई पक्राउ गरेको थियो । हाल उनी केन्द्रीय कारा गारमा छन् ।

 

सेन्ट मेरिज स्कुलका संस्थापक फादर ग्याफ्ने हत्याका अभियुक्त गोपाल खड्कालाई भारतको सिक्किमबाट पक्राउ गरी ६ वैशाख ०७२ मा नेपाल ल्याइएको थियो । हत्याको १८ वर्षपछि उनलाई भारतबाट ल्याई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको छ ।

 

स्पाइडर ग्याङका नाममा अपराधिक गतिविधि गर्दै आएका सन्दीप पाठक भनिने मिलन लामा ०६४ मा भारतमा पक्राउ परेका थिए । २४ मंसिर ०६७ मा भारतले उनलाई नेपाल प्रहरीलाई बुझाएको थियो ।

निलम्बित सांसद सञ्जय टक्लालाई प्रहरीले साढे दुई वर्षअघि भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको थियो । सिआइबीको टोलीले उनलाई २० वैशाख ०७१ मा पक्राउ गरेको हो । जनकपुर बम विस्फोटका आरोपी टक्ला हाल जेलमै छन् । २० साउनमा सर्वोच्च अदालतले उनलाई थुनामै राख्ने आदेश दिएको थियो ।

सुन तस्करीमा संलग्न बालकृष्ण (बिके) अग्रवाललाई महानगरीय प्रहरी अपराध महाशाखाले दुई वर्षअघि भारतबाट पक्राउ गरी ल्याएको थियो । हिमालयन बैंकमा एटिएममार्फत पाँच करोड ७५ लाख रुपैयाँ ठगी गर्ने अनिशभक्त सुवाललाई पनि प्रहरीले दुई वर्षअघि भारतबाटै पक्राउ गरी ल्याएको थियो ।

डा. उपेन्द्र देवकोटाकी छोरी अपहरणका नाइके सिद्धार्थ लामा तथा अपहरण गिरोहका नाइके भारतीय नागरिक अमर टण्डनलाई नेपाल प्रहरीले भारतबाटै पक्राउ गरी ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाको हिरासतबाट भागेका प्रहरी जवान खेमराज प्रजालाई प्रहरीले २२ फागुन ०७० मा भारतमा पक्राउ गरेको थियो । जनतान्त्रिक तराई मुक्तिमोर्चा राजन समूहका अध्यक्ष राजन भनिने रञ्जित झालाई प्रहरीले दिल्लीबाट पक्राउ गरी ल्याएको थियो ।

मुस्लिम नेता फैजान अहमद हत्याका सहयोगी ट्याक्सी चालक धनबहादुर थापामगर पनि भारतमै पक्राउ परेका थिए । उनलाई सिआइबीले भारतबाट पक्रेर ल्याएको थियो । युनिटी इन्टरनेसनलका काशी गुरुङ चार वर्षअघि सिक्किमबाट पक्राउ परेका थिए । डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रोहित पालिवाललाई पनि प्रहरीले भारतबाटै पक्राउ गरी नेपाल ल्याएको थियो । उनीहरू नेपालको जेलमै छन् ।

युनिटी इन्टरनेसनलका सञ्चालकद्वय विष्णु क्षेत्री र कृष्ण क्षेत्री भारतको हिमाञ्चलस्थित कुल्लुको एक गाउँबाट दुई वर्षअघि पक्राउ परे । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीका एक इन्स्पेक्टर नेतृत्वको टोलीले दिल्ली हुँदै कुल्लु पुगेर उनीहरूलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । तर, औपचारीक रूपमा भने प्रहरीले महेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरिएको बताएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको