विज्ञापनले बिगार्‍यो बानी: ‘कर्नफ्लेक्स’ हैन मकै-भटमास खाउँ

शुक्रबार, ३० भदौ २०७४

 

टेलिभिजन च्यानलहरुमा दिनहुँ विभिन्न सप्लीमेन्ट, टनीक र डिब्बा बन्द ‘पौष्टीक पदार्थ’हरुका विज्ञापन प्रशारण भइरहेका हुन्छन् ।

कतिपय विज्ञापनमा कुनै सेलीब्रेटीबाट भन्न लगाइएको हुन्छ, ‘५० बर्षपछि घरको खानाले तपाईलाई पोषण पुग्दैन । तपाईले बाहिरको प्रोटिन, भिटामीन, सुक्ष्म तत्वभएको खाना खानुपर्छ । पौष्टिकताले भरपुर यो चिज खानुस्, तपाईको माइसपेशी र हड्डीबलियो बन्छ ।’

 

विज्ञापनले औल्याएको प्याकेट, सिसी या डिब्बावाल खाना खाएपछि बच्चाले फुटबलमा गोल गरेको, पढाईमा फस्र्ट ल्याएको या बृद्ध-वृद्धा तन्दूरुस्त र भएको देखाउन खोजिएको हुन्छ । त्यस्ता विज्ञापन बारम्बार हेरेपछि बालकदेखि बृद्धसम्मको मनमा साँच्चै हो कि भन्ने भ्रम उत्पन्न हुन्छ र उनीहरु घरमा भएका स्वस्थकर खानाको साटो बाहिरका प्याकेटका खानेकुरा किन्न तयार हुन्छन ।

 

यस्ता गलत विज्ञापनलाई एक शब्दमा भन्न सकिन्छ, ‘वाहियात ।’
रँगीचगी विज्ञापनको फन्दामा परेर आमाबाबु पनि आˆना संतानलाई घरको पोषिलो दालभात, तरकारी ख्वाउन छोडेर प्याकेटका कुरा ख्वाउन शुरु गर्छन् ।

 

 

कुपोषणको कारण

एउटा विज्ञापन कस्तो छ भने एउटा बालक थाकेर  खेल्न सक्दैनन् । अग्लो नभएकाले साथीहरुले उनलाई जिस्क्याउँछन् । घरमा आमाले बट्टाको खाना दिएपछि त्यो बालक फुर्तीलो र अग्लो भएको देखाइन्छ । यदि बट्टाको खाना खाएर अग्लो, फुर्तीलो र खेल तथा पढाइमा अब्बल हुने भए राजा र धनी परिवारका सन्तानहरु सँधै अग्रस्थानमा हुनुपर्ने हो ।

मानिसहरुमा भ्रम छर्ने यस्ता विज्ञापनहरु वास्तवमा वैज्ञानिक, सामाजिक, आर्थिक र मानविय हिसाबले पनि गलत छन् । पोषक तत्व निकै कम भएका यस्ता खानाको बानी लागेपछि बालबालिकाहरु घरका पौष्टिक खाना खाँदैनन् । हुर्कदो उमेरका बालबालिकामा पोषक तत्वको अभाव हुन्छ र उनीहरु विरामी पर्छन् । अस्पताल जाँदाहुने खर्च, मानसिक तनाव र आफ्ना अन्य कामहरुमा त्यसको असर ।

 

 

बिग्रेको बानी

 

अहिलेका केटाकेटीहरुले भोक लाग्दा आलु चिप्स, चाउचाउ या ‘एक्सट्रा इनर्जी’ आदि लेखिएका सप्लीमेन्टहरु खाएको देख्दा म आफ्नो बाल्यकाल सम्झन्छु । मकै-भटमाससँग चिया या मोही खाँदा हाम्रो पेट टम्म भरीन्थ्यो । बाहीरको बिस्कुट या चाउचाउ केही खानै पर्दैनथ्यो ।

मकै हाम्रो भान्सामा पाइने सस्तो तर उर्जा दिने खाना हो । हिजोआज भ्रामक विज्ञापनको प्रभावका कारण बालबालीका ‘मकै पनि खाजा खाने हो र ?’ भनेर नाक खुम्च्याउँछन् । अनि त्यही मकैलाई अचेल मल्टीप्लेक्स हलहरुमा ‘पप कर्न’का रुपमा बेच्न राखिएको हुन्छ । हाम्रा बालबालिका दुइ मुठी मकैलाई दुई -तिन सय रुपैयाँसम्म तिर्छन् । किनकी, पप कर्न खाँदै फिल्म हेरेको दृश्य पनि विज्ञापनहरुमै देखाइन्छ ।

मैले चिनेकी एक महिला मित्र छिन् । एक दिन उनले बडो गर्वका साथ आफ्नो छोराले विहानको खाजामा कर्नफ्लेक्सबाहेक केही नखाने बताइन् ।

‘किन यस्तो महगो खाना दिएको । फेरी कर्नˆलेक्स बनाउँदा त त्यसमाभएका धेरै पौष्टिक तत्व हराइसक्छ । बरु मकैको च्याखलादिनुस् न’, मैले भनें ।

‘ओहो , मेरो छोराको घाँटीबाट मकैको च्याँखला कसरी जान्थ्यो होला ? मकै त नुरुले पचाउन पनि सक्दैन नि’, ति महिलाले मलाई कर्के नजरले हेरीन् ।

ति महिलालाई थाहा रहेनछ, आखिर कर्न फलेक्स मकैबाटै बन्छ । उनी पनि पत्र-पत्रिका र टिभीम आउने विज्ञापनबाट प्रभावित थिइन् । उनलाई वास्तविकता थाहा थिएन र महँगो मुल्य तिरेर सुक्ष्म पोषकतत्व नभएको कर्न फलेक्स् घोरालाई खुवाइरहेकै थिइन् ।

 

फर्सी फालेर ‘पम्कीन केक’

 

 

विज्ञापनको प्रभाव कस्तो भने मानिसहरु तरकारी पसलबाट गोलभेंडा ल्याएर अचार बनाउन जाँगर गर्दैनन्, फर्सीको लेदो मिसाइएको ‘टोम्याटो केचप’ किनेर घरमा ल्याउँछन् । भित्र चिज के छ थाहा हुँदैन, बाहीरको झिलीमीली लेबलबाटै प्रभावित भइहाल्छन् । आफ्नै बारीमा फलेको फर्सी नखानेहरु विज्ञापनको भाउँतोमा सभ्य, शिक्षित र आधुनिक बन्ने नाममा डिपार्टमेन्ट स्टोरबाट ‘पम्पकिन केक’ या ‘पम्पकिन सुप’ खान चाँही अघि नै सर्छन ।

फर्सी त सस्तो तरकारी भयो, त्यसको के मुल्य ? शहरीयाहरु शिक्षित र आधुनिक त भएका छन्, तर फर्सीको हलुवा बनाएर खाने चेतना भने उनीहरुमा पटक्कै जागेन । अँग्रेजी नाम भएकाले फर्सीमाभन्दा बढी पौष्टीक तत्व ‘पम्पकिन केक’मै हुन्छजस्तो गलत ठम्याइ ।

हो, विहानदेखि बेलुकासम्मको हाम्रो खानामा विज्ञापनले नकारात्मक असर पारीरहेको छ । ‘सर्ट कमर्शीयल ब्रेक’मा आउने विज्ञापनहरुले हाम्रो ‘हेल्थ ब्रेक’ गरीरहेका छन् । विज्ञापनको चमकधमकमा हामी दृष्टिबिहीन भएका छौं ।

कहाँसम्म भने बालबालिकालाई सकेसम्म चिनीले बनेका पदार्थ नखुवाउन चिकित्सकहरुको सल्लाह हुने गर्छ । तर, विज्ञापनले दुधमा पनि चकलेट हालेर खुवाउनुपर्ने अवस्थामा मानिसहरुलाई पुर्‍याइदिएको छ । त्यस्ता विज्ञापन हेर्ने बच्चाहरु पनि विशुद्ध दुधको साटो चकलेट हालेको दुध खान झगडा गर्छन् । चकलेट हालीएको दुध खाँदा सानैदेखि बच्चाको दाँत बिग्रन्छ, मोटोपन बढछ ।

 

भ्रामक विज्ञापन

 

यस्ता बिज्ञापन निर्माण गर्नेहरुले कसरी प्रोडक्टको लक्षीत समूहलाई प्रभावमा पानर्ेे या गुमराहमा राख्ने भनेर मनोविज्ञहरुसँग पनि सल्लाह लिएका हुन्छन् । कतिपय विज्ञापनमा त ‘डाक्टर’लाई नै उभ्याइएको हुन्छ । चर्चित कलाकार र समाजका प्रतिष्ठित व्यक्तिहरुकै मुखबाट ति चिजको गुनगान गाउन लगाइन्छ ।

अझ कुनै नायकले आफु पनि त्यही चिज खाएर सफलता पाएको कुरा गरीरहेको हुन्छ । फ्यानहरु तिनको लहलहैमा लाग्छन् । अभिभावकसँग बच्चाहरु पनि त्यही चिज चाहियो भन्दै किचकिच गर्न थाल्छन् ।

भारतका सुपर स्टार अमीताभ बच्चनले एउटा चिसो पेय पदार्थको विज्ञापनमा मोडलीङ गरेका थिए ।
‘हाम्रो स्कुलको मिसले त यस्तो पेय पदार्थ खानु हँुदैन, स्वास्थ बिग्रन्छ भन्नु भएको छ । किन तपाई यस्तो पेय पदार्थ खानुहुन्छ भनेर विज्ञापनमा भन्नुहुन्छ ?’, एक दिन एउटी स्कुले बालिकाले अमिताभलाई सोधीन् ।
अमीताभसँग त्यसको कुनै जवाफ थिएन । अन्ततः उनले त्यो पेय पदार्थको विज्ञापनमा खेल्न छाडे ।
अर्को एक विज्ञापनमा ‘३० वर्षको उमेर टेकेपछि महिला कमजोर हुँदै जाने र शरीरका लागि चाहिने क्याल्सीयमलगायतका पोषक तत्व घरको खानेकुराले मात्र नपुग्ने’ दाबी गर्दै ‘जौ, चिनी र दुध हालेर बनाइएको यो चिज खानुहोस्, महिलाहरुको विशेष भोजन हो’ भन्ने खालको प्रचार गरिएको हुन्छ ।
उमेर बढदै जाँदा महिलाको हाडको घनत्व केही कम हूँदै जान्छ । यो सत्य हो, तर महँगो बट्टाको खानाले त्यस्तो अवस्थामा केही फाइदा भने गर्दैन ।

हाड बलियो बनाउन चाहिने क्याल्सियम र भिटामीन डी प्राकृतिक तरिकाबाट पाउने अनेक उपाय छन् । घरमै भएको दाल, कोदो, सिमी, फापर, च्युरा, दुध, दही, मकै, सीमी आदि खाने, हिँडडुल गर्ने र घाममा बस्ने बानी बसाल्नुपर्छ । विज्ञापनको भाउँतोमा लाग्न छोडनुपर्छ । क्याल्सियम चक्की, भिटामीन र बट्टाका वस्तु खाएर हाड बलियो हुँदा हो त अमेरिका र युरोपमा कसैको पनि हाड फुसपुसे हुँदै जाने समस्या हुँदैनथ्यो होला ।

 

सबैको मुखमा बुझो

यस्ता भ्रामक विज्ञापन रोक्न मैले र अधिवक्ता विष्णु तिमल्सिनाले अदालतमा मुद्दा दायर गरेका थियौ । सर्वोच्च अदालतले कानुनको दायरामा रहेर मात्रै विज्ञापन दिन र चाउचाउ, औषधिलगायतमा भ्रामक विज्ञापनलाई नियमन गर्न सरकारको नाममा आदेश जारी गरेको थियो, तर त्यसलाइ सरकारले सुनेन । अदालतको आदेश कुनै पत्रिकाको समाचार पनि बनेन । ति पत्रिकाका मुख पनि त तिनै विज्ञापनले बुझो लगाएका छन् ।


बि्रटेनमा बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै ‘एक्सन अन जंक फुड मार्केटिङ’ नामक समुहले सरकारलाई खानाका बारेमा भ्रामक जानकारी दिने विज्ञापनमाथि रोक लगाउन या ‘प्राइम टाइम’मा ति विज्ञापन प्रशारण गर्न नदिन दबाब दिइरहेको छ । नेपालमा भने गलत विज्ञापनकविरुद्ध बोल्ने कुनै समुह छैन । विज्ञापनदाता कम्पनी र व्यापारीक घरानाले सबैको मुखमा बुझो लगाइदिएका छन् ।


टिआरपीको यो होडमा हामी विज्ञापन प्रशारण गर्ने टेलिभिजन च्यानललाई त केही भन्न सक्दैनौं, तर दर्शकहरु नै विवेक प्रयोग गरेर त्यस्ता विज्ञापनको प्रभावमा पर्नुहुदैन । अब जाग्न बेला भएन ? अब स्कुलका शिक्षक-शिक्षिका, आमा, बुबा, बाजे बज्यैहरु नै यस्ता विज्ञापनको चँगुलबाट बच्नुपर्छ र आफ्ना बालबालिकाहरुलाई स्वस्थ र पौष्टीक घरकै खाना खान प्रेरीत गर्नुपर्छ ।

 

SourcE: Onlinekhaabr


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको