स्थानीय निकायले नै वैदेशिक रोजगारमा जानेको तथ्याँक संकलन गर्ने
सोमबार, २३ असोज २०७४
काठमाडौं, असोज २२– खोटाङका तीन वटा स्थानीय निकायले वैदेशिक रोजगारीमा जानेको तथ्याँक संकलन गर्ने निर्णय गरेका छन् । जिल्लाका रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र लामिडाँडा गाउँपालिकाले वैदेशिक रोजगारमा जानेको तथ्याँक संकलन गर्ने निर्णय गरेका हुन् ।
आफ्नो नगरपालिकाबाट वैदेशिक रोजगारीमा जानेको विस्तृत विवरण संकलन गर्नका लागि बजेट विनियोजन गरिसकेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो । नगरपालिकाले वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सलाई उद्यमशिलतामा लगानी गर्न प्रेरित गर्ने कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । उद्यमशिलताका लागि तालिम दिने व्यवस्था समेत नगरपालिकाले मिलाउने मेयर रिजालले बताउनुभयो ।
यस्तै हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना सबै वडामा वैदेशिक रोजगारीबाट फर्किएकालाई नै परिचालन गरेर तथ्याँक संकलन गर्ने निर्णय गरेको छ । सुरक्षित आप्रवासन परियोजनाले काम गरिरहेका वडामा परियोजनाले नै रिटर्नि भोलेन्टियर परिचालन गरेको छ । बाँकी वडामा नगरपालिकाले कर्मचारी राखेर तथ्याँक संकलन गर्ने निर्णय गाउँसभाबाटै पारित गरेको छ ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिको तथ्याँक संकलन गरेर त्यसपछि कस्ता कस्ता कार्यक्रम गर्ने भन्ने निर्णय गरिने नगरपालिकाका उपमेयर बिमला राईले जानकारी दिनुभयो । नगरपालिकाले राखेका कर्मचारीले सुरक्षित आप्रवासन परियोजना सामिसँगको सहयोगमा वैदेशिक रोजगारीको क्रममा अप्ठेरोमा परेकालाई सहयोग गर्ने तथा जान लागेकालाई सहि सूचना दिने जनाएको छ ।
लामिडाँडा गाउँपालिकाले पनि गाउँपालिकाबाट वैदेशिक रोजगारीमा जानेको तथ्याँक संकलन गर्ने जनाएको छ । यसका लागि सबै वडामा कर्मचारी राख्ने निर्णय गरेको कार्यकारी प्रमुख प्रज्वल घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाबाट वैदेशिक रोजगारीमा जानेको तथ्याँक नहुँदा कस्ता कार्यक्रम गर्ने भन्ने अन्योल भएकाले पहिले परिवारलाई भेटेर तथ्याँक संकलन गर्न लागिएको घिमिरेले बताउनुभयो ।
भदौ २१ र २२ गते गाउँ सभा भएपनि पछि सामिका कर्मचारीसँगको छलफलपछि गाउँपालिकाले कार्यक्रम गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति खोटाङको पहिलो जिल्ला सभाले समेत वैदेशिक रोजगारीका क्षेत्रमा प्रभावकारी काम गर्ने निर्णय गरेको छ । समन्वय समितिले सात बुँदे नीतिको दोश्रो बुँदामा वैदेशिक रोजगारको विषय समेटेको स्थानिय विकास अधिकारी राजनकुमार बिसीले जानकारी दिनुभयो ।
सिप र श्रमको समान तथा रेमिट्यान्सको सहि सदुपयोगका लागि प्रभावकारी काम गर्न थप छलफल गरिने उहाँको भनाई छ । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमै भएका र फर्किएका युवाको हितमा गर्न सकिने कामका विषयमा सरोकारवालासँग थप छलफल गरेर कार्यक्रम तय गरिने एलडिओ बिसीले बताउनुभयो ।
जिल्ला समन्वय समितिले कार्यक्रम तय भएपछि जिल्लाका सबै स्थानीय निकायमा सर्कुलर पठाउने समेत जनाएको छ ।
सुरक्षित आप्रवासन परियोजना सामि अन्तरगत नवकिरण सेवा समाज र बाल सेवा समाजले जिल्लाका १४ वटा वडामा सुरक्षित वैदेशिक रोजगारीका लागि काम गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय दिक्तेल र इलाका प्रशासन कार्यालय खोटाङ बजारमा सुचना केन्द्र मार्फत विदेश जाने तयारीमा रहेकालाई जानकारी दिइरहेको छ । मनोसामाजिक परामर्श सेवा, सामाजिक परिचालन, वित्तिय साक्षरता, विद्यालय तथा आमसञ्चार कार्यक्रम, आप्रवासी हकहित संरक्षण केन्द्र गठन र गन्दर्भ गीतियात्रा जस्ता कार्यक्रम गरिरहेको छ ।
Source : Ujyaalo online
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्