दाङमा साझा चुनावी नारा– हाम्रो एउटै काम प्रादेशिक राजधानी, समृद्ध दाङ

शुक्रबार, २४ कार्तिक २०७४

 

दाङ । मनोनयन दर्ताअघि दाङ सदरमुकाम घोराहीको शहीदगेटमा आयोजित सभामा माओवादी नेता कृष्णबहादुर महराले भनेका थिए, ‘म मेरा पार्टीका अध्यक्ष प्रचण्डलाई प्रभावमा पार्न सक्छु र शंकर पोखरेलजीले उहाँका अध्यक्ष केपी शर्मा ओलीलाई, हामी दुबै जनाको दाङमा उम्मेदवारी संयोग होइन, योजनाबद्ध हो, अब दाङ प्रादेशिक राजधानी बन्नेमा ढुक्क हुनुस् ।’

मनोनयन दर्ताको भोलिपल्ट महरासहितको पत्रकार सम्मेलनमा एमाले नेता पोख्रेलले पनि भने, ‘दुबै पार्टीका अध्यक्षले मलाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेर नेतृत्व गर्न पठाउनु भएको छ । हामीले दाङका अधिकांश स्थानीय सरकारको नेतृत्व गरेकै छौं, अब प्रदेश र केन्द्रको पनि दाङका जनप्रतिनिधिले नेतृत्व गर्ने अवसर आउनु दाङको समृद्धिका लागि कोशेढुंगा नै मान्नुपर्छ ।’

 

दाङबासीको एउटा ठूलो सपना छ, पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउने । र, यो सपना साकार बनाउने प्रतिवद्धतासहित दाङका उम्मेदवारहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भोट मागिरहेका छन् । वाम गठबन्धनबाट मात्रै होइन लोकतान्त्रिक गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसका दीपक गिरी, राजु खनाल लगायतले पनि प्रादेशिक राजधानी दाङलाई बनाउने मुख्य चुनावी एजेण्डा बनाएका छन् ।

हरेक चुनावी कार्यक्रममा सबै पार्टीका उम्मेदवारहरुको एउटै बोली छ– पाँच नम्बर प्रदेशको राजधानी दाङ । त्यसैले संविधान जारी भएपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बरदानसावित हुनेमा दाङबासी विश्वस्त छन् । यो विश्वासलाई अझ बढाउने काम प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट खडा भएका दुई उम्मेदवार कृष्णबहादुर महरा र शंकर पोख्रेलले गरेका छन् ।

माओवादी केन्द्रका नेता महरा प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर २ बाट र नेकपा एमालेका नेता शंकर पोख्रेल प्रदेशसभा सदस्यका लागि दाङ २ को (क) बाट उम्मेदवार बनेका छन् । यी दुबै जना राष्ट्रियस्तरमा प्रभाव मात्र होइन, हस्तक्षेपसमेत गर्नसक्ने प्रभावशाली नेता हुन् । दुबै पार्टीका शीर्ष नेतालाई प्रत्यक्ष प्रभावमा पार्नसक्ने महरा र पोख्रेलको आगमनले दाङवासीमा खुशीयाली छाएको छ । अहिले चिया पसलदेखि मेलापातसम्म चर्चा चल्ने गरेको छ– यी दुई नेताले गर्न चाहे दाङलाई धेरै माथि उठाउन सक्छन्, पाँच नम्बर प्रदेशको राजधानी दाङलाई नै बनाउन सक्छन् ।

त्यसो त तत्कालीन सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले ७ वटा प्रदेशका अस्थायी राजधानी तोकेको छ जसमा पाँच नम्बर प्रदेशको राजधानी दाङ उल्लेख गरी मन्त्रिपरिषदमा पेश गरिएको छ । यो समितिमा पूर्व सामान्य प्रशासन मन्त्री एवम् माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मा समेत छिन् । उनी दाङ जिल्लाबासी हुन् र माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको बन्दसूचीमा एक नम्बरमा परेकी छन् । त्यसैले पनि पाँच नम्बर प्रदेशको राजधानी दाङलाई सर्वसम्मत तोक्न सहज बनेको थियो । तर, प्रदेश पाँचको राजधानी बुटवललाई बनाउन एमालेकै विष्णु पौडेल लगायतका नेताहरुले जोडबल गरिरहेका छन् । लुम्विनी क्षेत्रका कतिपय कांग्रेस नेताहरु पनि बुटवको पक्षमा भएकाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राजधानी तोक्ने औपचारिक निर्णय गर्न सकिरहेको छैन ।

दाङबासीको सपनाः प्रादेशिक राजधानी

दाङले अहिले माग गरिरहेको सबैभन्दा ठूलो कुरा ५ नम्बर प्रदेशको राजधानी नै हो । विकासका आश्वासन धेरैपटक सुनिसकेका दाङबासीका लागि प्रदेशको राजधानी नयाँ एजेण्डा हो । त्यसैले सबै पार्टीका नेताहरु यसैमा केन्द्रित छन् र आफूलाई जिताएमा दाङलाई नै राजधानी बनाउने प्रतिवद्धता जनाइरहेका छन् ।

दाङमा प्रादेशिक राजधानी सरोकार समिति गठन गरेर लामो समयदेखि आवाज उठाउने काम दाङबासीले गरिरहेका छन् । चुनावी गतिबिधि शुरु भएसँगै स्वतन्त्र हैसियतका रहेका युवाहरुले समेत ‘अबको हाम्रो एउटै कामः प्रादेशिक राजधानी, समृद्ध दाङ’ जस्ता अभियान सामाजिक सञ्जालबाट शुरु गरिसकेका छन् । यसका लागि राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने जनप्रतिनिधि आवश्यक रहेको दाङवासीको भावना प्रष्टै बुझ्न सकिन्छ । प्रचण्ड नेतृत्वको सरकारको पालामा उच्च अदालत दाङको तुलसीपुरमा स्थापना गर्नु र शेरबहादुर देउवा नेतृत्वको सरकारमा रुकुमका जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रदेश प्रहरीको मुख्यालय दाङमै स्थापना गर्नुले अब प्रदेशको राजधानी पनि दाङ नै हुनेमा आशा बढाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सफलता

दाङवासीले भर्खरै मात्र एउटा ठूलो सफलता प्राप्त गरेका छन् । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न संसदबाटै ऐन बनिसकेको छ । यसको मुख्य परिकल्पनाकार माओवादी नेता महरा हुनु र पछिल्लो समयमा यसमा सफलता प्राप्त गर्न पनि स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल, दाङ माओवादी इञ्चार्ज जीवन गौतमलगायत माओवादी नेताहरुकै निर्णायक पहल हुनुले पनि दाङको विकासमा राष्ट्रियस्तरकै प्रभावशाली नेता चाहिन्छ भन्ने दाङबासीले राम्रोसँग बुझेका छन् ।

डा. गोविन्द केसीसँग भएको सहमतिपछि यसलाई मेडिकल कलेजको रुपमा स्थापना गर्न सरकारी प्रयास भए पनि असफल भएपछि यसलाई प्रतिष्ठानमार्फत् अघि बढाउने योजना महराकै थियो ।

‘हो, म रोल्पाको सांसद भएको बेला पनि दाङका सबै सांसदहरुको भेला बोलाएर यो प्रस्ताव मैले अघि बढाएको थिएँ, खासगरी हाम्रै साथीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफलता प्राप्त गरेपछि मैले पनि यो मोडल सही छ भन्ने ठानेर अघि बढाएको हुँ,’ महराले भने, ‘दाङका सबै सांसदहरुले यसमा सहमति जनाउनुभयो, अहिले पनि मेरो नेतृत्वमा भएको त्यो निर्णयको हस्ताक्षरसहितको डकुमेन्ट छ, अब ऐन बनिसकेको अवस्थामा यसलाई पूर्णता दिनु मेरो प्राथमिक दायित्व हुनेछ ।’

त्यसो त महराले यो ऐन पारित भएपछि राजधानीमा राप्ती क्षेत्रका सांसदसहितलाई बोलाएर चियापान पनि केही दिनअघि गर्नुभएको थियो । यसका लागि महरा अर्थमन्त्री भएको बेला पूर्वाधारतर्फ पनि केही प्रयास शुरु गरेका थिए । उनैले छुट्याइदिएको २५ करोड रुपैयाँबाट हाल इमजरेन्सी र ५० बेडको अस्पताल भवन निर्माण शुरु भइसकेको छ ।

तीन अर्ब बजेटले बढाएको आशा

दाङले नियमित बजेटमा केही करोडभन्दा बढी रकम पाउन सकेन । तर, महरा अर्थमन्त्री भएको बेला रकम सुनिश्चितता (रकमान्तर) मार्फत तीन अर्बभन्दा बढी रकम पाउन सफल भयो । त्यसमध्ये आर्थिक ०७३÷७४ मा वर्ष १ अर्ब ८९ करोड ९४ हजार सडकमै आएको छ । जबकि नियमित बजेटमा ७७ करोड ७७ लाख ९७ हजार मात्रै आएको थियो । यसमध्ये घोराही–मुर्कुटी–देवीस्थान सडकमा त ३० करोड निर्माण प्रक्रियामै गइसकेको छ ।

‘आफै बजेट ल्याउन नपाएर अरुले ल्याएको बजेटमा पनि यति धेरै रकमान्तर गर्न सकिँदो रहेछ,’ घोराहीका एक बुद्धिजीवीले भने, ‘त्यसैले विकासका लागि जनप्रतिनिधि त ठूलै नेता हुनुपर्दोरहेछ ।’

दाङमा ३ लाख ३८ हजार मतदाता

दाङमा ३ लाख ३८ हजार ९ सय १४ जना मतदाता रहेका छन् । जिल्लामा संकलन गरी पठाएको नामावली अनुसार केन्द्रीय आयोगले संघ र प्रदेश सभाका लागि ३ लाख ३८ हजार ९ सय १४ जनाको नामावली पठाएको निर्वाचन अधिकृत विजयकुमार कार्कीले जानकारी दिए । कुल मतदातामध्ये एक लाख ६६ हजार १ सय पुरुष, एक लाख ७२ हजार ८ सय १२ जना महिला र २ जना तेस्रो लिंगी रहेका छन् ।

जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता क्षेत्र नं. ३ मा रहेका छन् । तीन नम्बर क्षेत्रमा एक लाख १८ हजार ९ सय ६८ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर एक मा १ लाख ११ हजार ९५ र क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ८ सय ५१ जना मतदाता रहेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको