यसरी जोगाऔँ बालबालिकाको दाँत

आइतबार, २८ माघ २०७४

 

स्वस्थ मुख र मिठो मुस्कानका लागि दाँत एउटा महत्वपूर्ण अंग हो । दाँत नभएको भए हामी राम्ररी बोल्न सक्दैनथ्यौँ, न त राम्रोसँग खान र मिठो हाँसो नै सम्भव हुन्थ्यो । दाँत स्वस्थ राख्न सानै उमेरदेखि हेरचाह गर्नु आवश्यक छ ।

 

खानपानमा खासै ध्यान नदिने र गुलियो पदार्थमा लोभिने भएकाले दाँत बिग्रिने तथा किराले खाने हुन्छ । यस्तो अवस्थामा दाँत बांगिन सक्छ । दाँत सड्ने रोग धेरै बालबालिकामा देखिन्छ ।

 

समयमै हेरचाह गरे दाँतलाई रोगहरूबाट बचाउन सकिन्छ । एउटा सर्वेक्षणअनुसार २० प्रतिशत ५ देखि ११ वर्ष उमेरका बालबालिकाको दाँत सड्ने गर्छ । १२ देखि १९ वर्षका १३ प्रतिशत बालबालिकाको दाँतमा विभिन्न समस्या देखिन्छ ।

 

कम आयस्रोत भएको परिवारका ३० प्रतिशत बालबालिकामा यस्तो समस्या आउँछ । तर, दाँतमा निम्तिने यस्ता समस्या फ्लोराइडले ३३ प्रतिशत कम गर्छ । प्रायः ६ महिनाको उमेरदेखि दाँत उम्रिन सुरु भएर दुई वर्षको उमेरमा पूरा हुन्छ । बच्चामा हुने दुधे दाँत जम्मा २० वटा हुन्छन् ।

 

सफा गर्ने समय र तरिका
०  पहिलो दाँत उम्रेको समयदेखि नै दाँत सफा गर्नुपर्छ ।

 

०  दाँत धेरै आएपछि नरम वस्तु (जस्तै : कटन कपडा) र पानीले सफा गर्नुपर्छ ।


०  दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई टुथपेस्ट प्रयोग गराउनु हुँदैन । दुई वर्ष नाघेपछि भने टुथपेस्ट प्रयोग गर्नुपर्छ ।


० केटाकेटीको उमेर बढ्दै गएपछि दिनको दुईपटक दाँत सफा गर्न लगाउनुपर्छ । ब्रस गरेपछि सामान्य कुल्ला मात्रै गर्नुपर्छ, धेरै कुल्ला गर्नु हुँदैन । धेरै कुल्ला गर्दा टुथपेस्टको फ्लोराइड पखालिन्छ ।


०  साना केटाकेटीलाई दुईदेखि तीन मिनेट मात्र ब्रस गर्न लगाउनुपर्छ ।


० चिनी राखिएका खानेकुरा कम खुवाउने तथा बजारमा प्याकेटमा राखिएका खानेकुरा खुवाउनु हुँदैन ।


०  बच्चालाई बढ्न मद्दत गर्ने खानेकुरामा जोड गर्नुपर्छ ।


०  सुत्नेवेला बोतलमा दूध खुवाउनु हुँदैन । खुवाइयो भने पनि पानीले दाँत कुल्ला गर्न लगाउनुपर्छ ।
 

० दाँत तथा गिजामा चोट लाग्यो भने पनि बिग्रिन्छ । यस्तो अवस्थामा तत्काल डेन्टिस्टलाई देखाउनुपर्छ ।


तृष्णा कर्ण
दन्त चिकित्सक


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको