एक दिनमा कति घण्टा निदाउने ?

आइतबार, २८ माघ २०७४

अधिकांश मानिसलाई आफ्नो निद्रा पुरा भएको छैन भन्ने थाहा हुन्छ, तर एक दिनमा कति निद्रा चाहिन्छ भन्ने कुरा भने थाहा हुँदैन । अमेरिकामा भएको एक अध्ययनले व्यक्तिको निद्रालाई उसको उमेरसँग जोडेर फरक फरक तथ्य सार्वजनिक गरेको छ ।

नियमित जीवनशैलीको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्सको सेवन लगायतका कुराले दैनिक दिनचर्यामा प्रभावित पार्ने अध्ययनले पत्ता लगाएको छ ।
अमेरिकाको भर्जिनियास्थित एरलींगटनको च्यारीटी नेशनल स्लीप फाउण्डेशनका अनुसार हरेक व्यक्तिको जीवनशैली उसको निद्रामा निर्भर गर्छ । व्यक्तिको उमेर अनुसार उसलाई आवश्यक पर्ने निद्राको समय पनि फरक हुन्छ ।

नवजात (जन्मेदेखि तीन महिना): हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक पर्छ । ११ देखि १३ घण्टा पनि पर्याप्त हुन्छ तर १९ घण्टा भन्दा बढी निद्रा फाइदाजनक नहुने अध्ययनको निष्कर्ष छ ।

शिशु (४ देखि ११ महिना) हरेक दिन १२ देखि १५ घण्टा निद्रा आवश्यक हुन्छ । कम्तिमा १० घण्टा पर्याप्त हुन्छ तर १८ घण्टा भन्दा बढी निद्रा उपयुक्त हुँदैन ।
सानो बच्चा (एक देखि दुई वर्ष) : ११ देखि १४ घण्टाको निद्रा उपयुक्त हुन्छ । ९ घण्टा देखि १६ घण्टासम्मको निद्राले नोक्सानी गर्दैन ।

तीन देखि पाँच वर्षका बालबालिका : १० देखि १३ घण्टाको निद्रा उपयुक्त मानिन्छ । आठ घण्टा भन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन ।
स्कुल जाने उमेरका बालबालिका (६ देखि १३ वर्ष): ९ घण्टा देखि ११ घण्टा उपयुक्त मानिन्छ । यो उमेर समुहका बालबालिकाका लागि ७ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा फाइदाजनक मानिदैन ।

किशोरावस्था (१४ देखि १७ वर्ष) : यो उमेर समुहका लागि ८ देखि १० घण्टाको निद्रा आवश्यक मानिन्छ । सात घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा भने उपयुक्त मानिदैन ।

वयस्क ( १८ देखि २५ वर्ष) नौजवान वयस्कका लागि सात देखि ९ घण्टाको निद्रा पर्याप्त मानिन्छ । ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन ।

२६ देखि ६४ वर्ष : यो उमेर समुहका मानिसलाई पनि वयस्कलाई जति नै निद्रा आवश्यक पर्ने अध्ययनबाट पुष्टि भएको छ ।
वृद्ध (६४ वर्ष भन्दा माथि) यो उमेर समुहका मानिसका लागि ७ देखि ८ घण्टाको निद्रा उपयुक्त मानिन्छ । पाँच घण्टा भन्दा कम र ९ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन ।

नेशनल स्लीप फाउण्डेशनका विशेषज्ञहरुका अनुसार राम्रो निद्रा कसरी प्राप्त गर्न सकिन्छ भन्ने सुझाव पनि दिएका छन् ।

समयमै सुत्ने बानी बसाल्ने

हरेक दिन व्यायाम गर्ने

बेडरुमको तापक्रम, ध्वनी र प्रकाश सन्तुलन गर्ने

आरामदायी बेड र सिरानीको प्रयोग गर्ने

मदीरा र कफीबाट बच्ने

सुत्नुभन्दा पहिले इलेक्ट्रोनिक्स समान बन्द गर्ने


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको