गुटगत राजनीति मुक्त शिक्षक संघ बनाउन मेरो उम्मेदवारी - किशोरदत्त बराल

बिहिबार, ०१ चैत २०७४

 

तपाईं संघमा अध्यक्षको उम्मेदवार बन्नुको कारण केहो ?
सवैभन्दा पहिले शिक्षकहरुको हक अधिकार सुनिश्चित बनाउँदै पेशागत आन्दोलनलाई मर्यादित बनाउनु नै मेरो उद्देश्य हो । गुट भन्दा माथि उठेर शिक्षकहरुको पेशागत सुरक्षा, स्थायीत्व र वृत्तिविकासको पक्षमा काम गर्ने शिक्षक संघको असल नेतृत्व निर्माणका लागि मेरो उम्मेदवारी हो । गुटगत राजनीतिको विरुद्धमा नै मेरो उम्मेदवारी भएकाले मेरो अन्य पदका प्यानल हुने छैनन् । म मात्रै प्रतिस्पर्धा गर्नेछु । साथीहरुले नै संघलाई गुटगत राजनीति मूक्त बनाउन मेरो उम्मेदवारी घोषणा गरिदिएका हुन् । फेरी, मलाई दुईवर्ष अघि देखि नै अध्यक्षको उम्मेदवार भनेर प्रचार गरियो । म पनि सोही अनुसार तयारमिा लागेँ । तर, अन्तिममा आएर गुटैपिच्छेका उम्मेदवारहरु खडा भए । त्यसैले शिक्षक संघलाई गुटगत राजनीति मुक्त बनाउँदै शिक्षकहरुको हकहितका लागि लड्ने साझा थलो बनाउनका लागि नै मैले उम्मेदवारी घोषणा गरेको हुँ ।


तपाईं पनि विगतमा एउटा गुटलाई समर्थन गर्नुहुथ्यो, होइन ?
म कहिल्यै कुनैपनि गुटमा थिइन । मेरा केही साथीहरुका कारण मलाई गुटको आरोप लाग्ने गरेको हो । म गुटगत राजनीतिमा कहिल्यै रमाइन र त्यो शिक्षक संघमा रहनु हुँदैन भनेर निरन्तर लागिरहेँ । म विगतमा संघको अध्यक्ष भएर काम गर्दा कहिल्यै गुटको राजनीति गरिन । पेशागत आन्दोलनलाई मर्यादित बनाउँदै शिक्षकहरुको हक, अधिकार र कर्तव्यको रक्षार्थ खटिएका शिक्षकहरु नै मेरा गुट हुन् । मेरो गुट नेताको होइन, शिक्षकहरुको मात्रै हो । त्यसैले सवै गुटका शिक्षकहरु मेरा साथी हुन् । उनीहरुको भित्रि सहयोग मलाइ नै छ ।


तपाईंको जित्ने आधार के–के हुन् ?
मैले विगत देखि गर्दै आएका काम र शिक्षकको हकहितका पक्षमा उठाएका मुद्दाहरु प्रति आम शिक्षक वर्गहरुको भरोसा र विश्वास नै मेरो जित्ने आधार हो । म कहिल्यै देउवा र पौडेल गुटमा लागेर संगठनलाई कमजोर बनाउन चाहिन । दलको राजनीति शिक्षक संघमा प्रवेश गराउन हुँदैन भनेर निरनतर लागिरहँे र मेरो जहिल्यै फुटाउने नभइ मिलाउने भुमिकाबाट साथीहरु सन्तुष्ट हुनुहुन्छ । संघलाई अनुसन्धानमुखी, प्रविधिमुखी बनाउँदै शिक्षकहरुको पेशागत समस्या समाधान र क्षमता अभिवृद्धिमा केन्द्रित गर्न भएको मेरा प्रयासहरुबाट शिक्षक साथीहरु प्रभावित हुनुहुन्छ । मैले मेरो उम्मेदवारी आफै भन्दापनि शिक्षक साथीहरुको जोडबलले भएको हो । शिक्षक संघमा गुटगत राजनीति भित्राउनुहुँदैन भन्ने साथीहरुको ठूलो समुहको आग्रहले म अध्यक्षको उम्मेदवार बनेको हुँ । त्यसैले मेरो जित सुनिश्चित भइसकेको छ । त्यसलाई महाधिवेशनले औपचारिकता मात्रै प्रदान गर्न बाँकी छ ।


अध्यक्षमा विजयी भए तपाईंले के–के गर्नुहुन्छ ?
मैले अध्यक्षमा विजयी भए गर्ने कामहरुको प्रतिवद्धता सार्वजनिक गरिसकेको छु । म अध्यक्ष बनेमा पहिलो काम भनेको शिक्षक संघलाई गुटको राजनीतिबाट फरक बनाउनुहुनेछ । त्यस्तै, शिक्षकहरुको पेशागत ट्रेडयुनियन अधिकारको पक्षमा मेरो लडाई निरन्तर जारी रहनेछ । शिक्षक संघलाई प्रविधिमुखी बनाउदै विद्यालयमा प्रविधिमैत्री सिकाइका लागि शिक्षकहरुलाई नियमित प्रशिक्षणको व्यवस्था गर्नेछु । मैले विगत देखि नै मान्छे ठूलो हैन असल बन्नुपर्छ भनेर विपि शिक्षा अभियान सञ्चालन गर्दै आइरहेको छु । असल, नैतिकवान, प्रविधियुक्त शिक्षा विकासका लागि मेरो योगदान रहनेछ । ४ वर्ष्भित्र शिक्षकहरुकै लगानीमा एउटा शिक्षक अस्पताल निर्माण गर्ने मेरो कार्ययोजना छ । म मेरो कार्यकालमा त्यो बनाएरै छाड्नेछु ।


अन्य अध्यक्षका उम्मेदवारहरुलाई छाडी तपाईं नै किन विजयी गराउने ?


आधिकारीक रुपमा सार्वजनिक नभएपनि केशव निरौलाले पनि अध्यक्षमा उम्मेदवारी दिने सुन्नमा आएको छ । तर, उहाँले यसअघिको कार्यकालमा केही गर्न नसकेको भनी व्यापक असन्तुष्टीहरु छन् । हिजोका दिनमा उहाँ आफैले पनि केही गर्न सकिन भनेर स्वीकारेको अवस्थामा उहाँले पुन उम्मेदवारी दिनु शिक्षक साथीहरुलाई कत्ति मन परेको छैन । फेरी, यसअघि देखि नै राजेन्द्र राज पौडेलले अध्यक्षको उम्मेदवारी घोषणा गरेर अगाडी बढी सक्नु भएको छ । उहाँ राजनीति गर्ने र सानो गुटमा रमाउने मान्छे हुनुहुन्छ । परिवारवाद, गुटवाद मौलाउन नदिनका लागि पनि शिक्षक साथीहरुले आफ्नो विवेक प्रयोग गर्नुहुन्छ ।

किशोरदत्त बराल
अध्यक्षका उम्मेदवार
नेपाल शिक्षक संघ

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको