गर्मीमा कसरी जोगाउने छाला र कपालको सौन्दर्य ?

सोमबार, १९ चैत २०७४

 

गर्मीमा चर्को घाम र धुलो-धूँवाले अनुहार तथा हातखुट्टाको छालालाई सोझो असर गर्छ । घामले छालालाई कालो बनाउँछ । छालाको पानी सोस्छ र रुखो बनाउँछ । छाला फुस्रो हुने, रुखो हुने समस्या हुन्छ ।

 

मध्यन्हको चर्को घाममा घरबाहिर हिँड्ने अझ मोटरसाइकल, स्कुटरमा कुद्नेहरुले अनुहारको सुरक्षा खोज्नुपर्छ । मोटरसाइकल एवं स्कुटरमा धुलो, धूँवाले अझ बढी असर गर्छ ।

 

जसरी अनुहारलाई घाम, धुलो, धूँवाले क्षति पुर्‍याउँछ, त्यसैगरी कपाललाई पनि असर गर्छ । त्यसैले गर्मीमा अनुहार तथा कपालको सौन्दर्य कायम राख्न केही उपाय अपनाउनुपर्छ ।

 

के हुन्छ समस्या ?

घामको सोझो असरले अनुहार रुखो हुने समस्या देखापर्छ । भनिन्छ, मध्यन्हको चर्को घामले छालालाई स्वभाविकभन्दा बुढो बनाइदिन्छ । त्यसैले यतिबेला चर्को घाममा निस्कनु त्यती राम्रो मानिदैन ।

त्यस्तै छाला डढ्ने, चायाँपोतो आउने, डन्डिफोर आउने, फुस्रो हुने समस्या देखापर्छ । नाकको टुप्पो र ओंठ मुनीको भागमा चिप्लोपना आउँछ ।

यतिबेला सुख्खा हावा चल्छ । हावासँगै धुलो उड्छ । यस्तो धुलोले छालाको रोम छिद्र बन्द गरिदिन्छ । रोमछिद्र बन्द भएपछि शरीरको विकार वाहिर निस्कन पाउँदैन, जो पसिनको माध्यामबाट निस्कन्छ । त्यसले अनुहारमा दाग धब्बा देखिने संभावना हुन्छ ।

कपाललाई पनि घामले हानी गर्छ । घामको सोझो किरणले कपालको प्राकृतिक तेल सुकाइदिन्छ । कपाल रुखो हुन्छ । यसले कपालको जरामा समेत असर पार्छ ।

 

पसिनाको दुर्गन्ध

गर्मीमा धेरैले भोगिरहेको समस्या भनेको पसिनाको दुर्गन्ध हो । कतिपयलाई शरीरको तापमान थोरै बढ्नसाथ खलखली पसिना आउँछ ।

पसिनाले काखी लगायत शरीरको विभिन्न भाग ओसिलो बनाउँछ । ओसिलो मात्र बनाउने होइन, दुर्गन्ध पनि फैलाउँछ । यस्ता पसिनामा व्याक्टेरियाहरु पैदा हुने भएकाले पनि दुर्गन्ध फैलन्छ ।

 

कसरी जोगाउने छाला र कपाल ?

गर्मीमा कसरी अनुहार, हातखु्ट्टा तथा कपालको सौन्दर्य जोगाउने त ? यसलाई बुँदागत रुपमा चर्चा गरौं ।

 

पुरा शरीर ढाक्ने लुगा लगाउनुहोस्

सर्वप्रथम गर्मीमा घर बाहिर हिँड्ने हो भने शरीरको पुरा भाग ढाक्ने पहिरन लगाउनुपर्छ । हात, खुट्टा लगयातका अधिकांश भाग कपडाले छोप्न पाइयो भने घामले सोझो असर पुर्‍याउँदैन ।

 

माक्स प्रयोग गर्नुहोस्

अनुहारमा माक्स लगाउनुहोस् । माक्सले तपाईको आधाभन्दा बढी अनुहारको हिस्सा ढाकिदिन्छ । यसले धूलो-धुँवालाई फोक्सोमा जान मात्र रोक्दैन, अनुहारको छालालाई रक्षा पनि गर्छ । घाम र धुलो धूँवाको असरबाट बचाउँछ ।

 

सन ग्लास लगाउनुहोस्

गर्मीमा सन ग्लास लगाउनु निकै उपयोगी हुन्छ । यसले आँखाको सुरक्षा गर्छ । साथै अनुहारको पनि । एकातिर माक्स र अर्कोतिर सन ग्लास लगाएपछि तपाईको करिब अनुहारका अधिकांश हिस्सा सोझो घामको प्रभावमा आउँदैन । यसले धुलो र धूँवावाट पनि जोगाउँछ । स्टाइलिस त देखिने नै भयो ।

 

छाता ओड्नुहोस्

यो सिजनमा छाता बहुउपयोगी हुन्छ । यसले गर्मीमा सितलता प्रदान गर्छ । झरीबाट पनि जोगाउँछ । गर्मीमा घामको सोझो किरणबाट बच्नका लागि छाता ओड्नैपर्छ ।

घरबाहिर हिँडडुल गर्दा छाता ओड्नुभयो भने तपाईको अनुहारमा घामको सोझो असर पर्दैन ।

 

 

दिन दिनै नुहाउनुहोस्

हुन त काठमाडौं जस्तो शहरी क्षेत्रमा पानीको अभाव छ । कतिपयलाई दिन दिनै नुहाउन अनुकुलता नमिल्न सक्छ । तर, गर्मीमा नुहाउनु अनिवार्य छ । अझ चिसो पानीले । यसले शरीरलाई फुर्तिलो राख्छ । साथसाथै सफा पनि ।

गर्मीमा पसिनाको दुर्घन्ध हटाउन पनि नुहाउनुपर्छ । नुहाइएन भने ह्वास्स शरीरको गन्ध आउँछ । यसले तपाईको व्यक्तित्वमा ठूलो असर गर्छ । साथै छालाको संक्रमणको भय पनि हुन्छ ।

दिनै नुहाउने र लुगा पनि दिनदिनै परिवर्तन गर्ने गरियो भने ताजा, फ्रे स र स्मार्ट देखिन्छ ।

 

सन प्रोटेक्सन क्रिम

गर्मीमा घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । यसले छालाको सौन्दर्य नष्ट हुन दिदैन ।

काठमाडौं तथा नेपालको तापक्रम अनुसार सामन्यत एसपिएफ-१५ भन्दा माथिको सन प्रोटेक्सन क्रिम उपयुक्त हुन्छ । वाहिर निस्कने वेला खल्तीमा वेट टिस्यु पेपर वोक्न पर्छ । पसिना तथा धुलो पुछ्न निकै उपयोगी हुन्छ यो ।

 

महिलाको लागि समर टिप्स

महिलाहरुका लागि यहाँ छुटै टिप्स किन दिइएको छ भने, उनीहरुले गर्मीमा अतिरिक्त समस्या झेल्नुपर्छ । खासगरी मेकअप लतपत हुने, बग्ने समस्या हुन्छ । कपालको समस्या पनि तुलनात्मक रुपमा उनीहरुकै बढी हुन्छ ।

महिलाहरुले गर्मीमा यताउता हिँडडुल गर्नुअघि स्कार्फ वा सलले केस तथा अनुहार ढाक्न सक्छन् । अहिले कतिपयले सलले कपाल र अनुहार ढाक्ने गर्छन्, जो एकदमै राम्रो काइदा हो । खासगरी स्कुटरमा हिँड्नेले सलले कपाल छोप्नुपर्छ ।

गर्मीमा हेभी मेकअप ठिक हुँदैन । यस्तो मेकअप पसिनाले लतपत हुन्छ । बग्छ । अनुहार राम्रो होइन, थप नराम्रो देखिन सक्छ । यसवाट छुटकारा पाउनका लागि फाउन्डेसन प्रयोग गर्नुपर्छ । तर, कुन समयमा मेकअप गर्ने हो, त्यही अनुसार फरक फरक फाउन्डेसन लगाउनु पर्छ । जस्तो, विहान, टिन, दिउँसो लिक्विड र साँझमा स्टिक । त्यस्तै, ओंठको चमक कायम राख्न लिभ वाम प्रयोग गर्नुपर्छ । अतः राती सुत्नुअघि मेकअप उतारेर सफा पानीले मुख धुन भुल्न हुन्न ।

 

कपालको लागि विशेष टिप्स

धेरैले भोगेकै हुनुपर्छ, चर्को गर्मीमा कपाल ड्राइ हुने, हाँगा आउने, फोहोर जम्ने, टुक्रिने, खुम्चिने समस्य हुन्छ । त्यसैले यसवाट जोगिनाका लागि राम्रो हेयर व्रसले केस कोर्ने गर्नुपर्छ ।

काँइयो भन्दा राम्रो विकल्प हो यो । हेयर व्रसले कपालमा रहेका मसिना धुलो हटाइदिन्छ ।

यदि सकिन्छ भने हरेक विहान कपाल नुहाउनुहोस् । नुहाउँदा लाइट स्याम्पु प्रयोग गरौं । नुहाइसकेपछि हेयर कोट लगाउनु उत्तम हुन्छ । यसले कपाल चम्किलो देखिने मात्र होइन घाम र धुलोबाट पनि जोगाउँछ ।

 

यी कुरा पनि जान्ने कि ?

गर्मीमा अनुहार, हात, खुट्टा तथा कपालको सौन्दर्य कसरी जोगाउने भनेर त जानियो । तर माथि उल्लेख गरिएका कुरा वाहिरी सुरक्षा हुन् । अनुहार तथा छाला, कपाललाई स्वस्थ्य र ताजा बनाउन आन्तरिक स्वास्थ्यको पनि भूमिका हुन्छ ।

गर्मीमा प्रशस्तै पानी पिउनुहोस् । ताजा फलफूल (मौसमी) पिउनुहोस् । फलफूलमा पनि स्याउ चाहि निकै उपयोगी मानिन्छ । यसमा पानीको मात्रा उच्च हुन्छ । त्यसबाहेक खरबुजा, अंगुर उपयोगी मानिन्छ ।

जुस पिउनुहोस् । सलाद सेवन गर्नुहोस् । ग्रीन टि एकदमै उपयोगी हुन्छ । ग्रीन टिमा एन्टि अक्सिडेन्टको मात्रा उच्च हुन्छ ।

घरबाहिरको खानेकुरा खासगरी पानीपुरी, चटपटे, जंकफूड सेवन नगरौं । यस्ता खानेकुराले स्वास्थ्य कमजोर बनाउँछ । स्वास्थ्य कमजोर भयो भने छाला र कपालमा पनि त्यसको असर देखिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको