भान्सामा शौचालय ! सप्तरी ‘खुला दिसामुक्त’ घोषणा, झुटो तथ्यांकको सहारा !
बिहिबार, २२ चैत २०७४

रुनाई सदाले भान्सासँगै निर्माण गरेको शौचालय
राजविराज– मिथ्या तथ्यांक प्रस्तुत गरेर सप्तरीलाई खुला दिसामुक्त घोषणा गरिएको छ। प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रकुमार सोनलले आज राजविराजमा आयोजित एक समारोहमा सप्तरी ‘खुला दिसामुक्त’ भएको घोषणा गरे।
क्षेत्रीय खानेपानी सरसफाइ सरसफाइ तथा स्वच्छता समन्वय समितिले चैत १२ र १३ गते अनुगमन गरी खुला दिसामुक्त घोषणाका लागि सप्तरी जिल्ला योग्य भएको प्रतिवेदन दिएको थियो। सोही प्रतिवेदनका आधारमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको १५ चैतको निर्णय अनुसार खुला दिसामुक्त घोषणा गरिएको सदस्य–सचिव लोकेन्द्र यादवले बताए।
सप्तरीलाई सन् २०१६ भित्रै खुला दिसामुक्त घोषणा गर्ने योजना थियो। तर, शौचालय निर्माण तथा प्रयोगमा अपेक्षित सुधार नआएकै कारण पटक–पटक मिति सार्दै बुधबार औैपचारिकता पूरा गरिएको हो। तर, सप्तरीका कुल १ लाख १९ हजार ६ सय ८२ घरधुरीमध्ये ५० प्रतिशतमा घरमा अहिले पनि शौचालय व्यवस्थित नभएको भन्दै आलोचना भइरहेको छ।
शौचालय निर्माण नै नगरी जिल्लाका ९ नगरपालिकासहित १८ वटै स्थानीय तहलाई हतारोमा खुला दिसामुक्त घोषणा गरी जिल्लालाई पनि औपचारिकता प्रदान गरिएको आरोप स्थानीयहरुले लगाएका छन्। मधेसी चेतना समाजले विज्ञप्ति जारी गरेरै औपचारिक खुला दिसामुक्त घोषणाको विरोध गरेको छ। जिल्लामा हालसम्म ६० प्रतिशत पनि शौचालय निर्माण नभएको दाबीसहित यस प्रपञ्चमा लागेका सबैलाई कानुनी दायरामा ल्याउन विज्ञप्तिमा माग गरिएको छ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले अधिकांश स्थानीय तहमा हालसम्म २५–३० प्रतिशत शौचालय निर्माण गर्न बाँकी रहेको बताए।
‘निर्माण कार्य सम्पन्न भनेर देखाइएका ७५ प्रतिशतमध्ये पनि २५ प्रतिशत शौचालय अधुरै छन्’, यादवले भने, ‘बाँकी ५० प्रतिशतमध्ये पनि २५ प्रतिशत शौचालय देखाउनका लागि मात्रै घेराबेरा गरिएको छ। प्रयोग गर्न सक्ने अवस्था छैन।’
प्रयोग गर्न मिल्ने अवस्थामा रहेका २५ प्रतिशत शौचालय पनि शौचका लागि कम र सरसामान राख्नका लागि धेरै प्रयोगमा रहेको उपाध्यक्ष यादव बताउँछन्। उनले भने–‘अभियानलाई अहिलेकै अवस्थामा दिसामुक्त भन्दा पनि शौचालयमुक्त भन्दा राम्रो होला।’
सरकारी कामका लागि सिफारिस र सामाजिक सुरक्षा भत्ता रोक्ने, खुला ठाउँमा शौच गर्न जाँदा सिट्ठी बजाएर लखेट्ने, प्रहरी लगाएर धम्क्याउने, फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने, शौचालय नबनाएको रिसमा चुलो भत्काउने लगायतका क्रियाकलापले आतंकित भएर ठड्याइएका अधिकांश शौचालय प्रयोग गर्ने अवस्थामै नरहेको जानकारहरु बताउँछन्।
सदरमुकाम समेत रहेको राजविराज नगरपालिकाकै आधारमा अन्य स्थानीय तहमा शौचालय निर्माण र प्रयोगको अनुमान लगाउन सकिने भन्दै उपाध्यक्ष यादवले थपे, ‘सबैको नजरमा पर्ने र खुला दिसामुक्त भनिएको राजविराज नगरपालिकाको व्यस्त बजारमै खुल्ला शौच भइरहेको छ। अन्य स्थानीय तहको अवस्था कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ।’
राजविराज नगरपालिका वडा नम्बर १३ का अध्यक्ष राजेन्द्रप्रसाद यादवको आफ्नै घर हालसम्म शौचालयविहीन छ। उनी मात्र होइन, वडाध्यक्ष यादवसहित २५ प्रतिशत घरधुरीमा अहिले पनि शौचालय छैन।
‘शौचालय बनाए ५ हजार नगद र एउटा कल (ट्युबेल) दिन्छौं भनेका थिए, बनाउनेले अहिलेसम्म पनि पैसा पाएका छैनन्’, स्थानीय शिवनारायण यादव भन्छन्, ‘मेरो पनि शौचालय अधुरै छ। पहिला पैसा दिए काम पूरा गर्छु, नत्र यत्तिकै रहन्छ।’
वडा नम्बर १२ स्थित करिब १ दर्जन डोम परिवारमा पनि कसैको घरमा शौचालय छैन। बनाउन सुरु गरे पनि पैसा अभावका कारण पूरा भएको छैन।
‘१३ जनाको परिवारमा सबै जना बेरोजगार छौं’, जगदीश मरिक भन्छन्, ‘पेट पाल्नु कि शौचालय बनाउनु?’
सोही वडाको सिंग्यौनस्थित मुसहर बस्तीका रुनाई सदाले भान्सामै निर्माण सुरु गरेको शौचालय अहिले निकै चर्चामा छ। शौचालय निर्माणलाई गैरसरकारी संस्थाले कसरी अगाडि बढाएका छन् र कस्तो दबाव दिएका छन् भन्ने दखाउन सदा उदाहरण बनेका छन्। अन्य ६० घर मुसहर परिवार शौचालय कहाँ बनाउने भन्ने मै अल्मलिएका छन्। केहीले आफ्नो झुप्रोसँगै बाहिर शौचालय बनाए पनि त्यसको निकासलाई सुरक्षित गर्न सकेका छैनन्।
खुला दिसामुक्त अभियानमा सार्वजनिक हित र सरोकारलाई प्राथमिकतामा राखिएको छैन। ३० जना बालबालिका अध्ययनरत रामटोलको मुन्ना बाल विकास केन्द्र अहिले पनि शौचालयविहीन छ। शिक्षिका रजना दास भन्छिन्, ‘समितिमा कुरा उठ्छ, शौचालय चाहिँ बन्दैन।’
दलित बालबालिका पढ्ने बाल विकास केन्द्रलाई बेवास्ता गरिएको भन्दै वडा सदस्य नन्दु रामले भने, ‘बालबालिकालाई तिर्खा लाग्दा पानी खुवाउने ट्युबेलसम्म छैन। पानी बोकेर घरबाटै कुद्नुपर्छ, केको शौचालय?’
वडा नम्बर ७ मा अधिकांश घरमा शौचालय भए पनि खुला शौच गर्नेको संख्या अधिक छ। करिब १ सय मेहतरको बसोबास रहेको यो टोलमा निर्माण गरिएका अधिकांश शौचालयको निकास गाउँको बीचमा रहेको खुला नालामा मिसाइएको छ। स्थानीय दीपनारायण मेहतर भन्छन्, ‘बरु शौचालय नहुँदै फोहोर घरदेखि टाढा हुन्थ्यो, शौचालयले समस्या बढायो। आँगनमै फाहोर आयो, गर्मीमा हैजाको खतरा छ।’
यो समस्या राजविराज नगरपालिकाको मात्र होइन, बुधबार खुला दिसामुक्त घोषणा भएको सिंगो सप्तरीका १८ वटै स्थानीय तहको अवस्था यो भन्दा फरक नरहेको जानकारहरु बताउँछन्। अभियानमा कुल ९ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ।
News Source: Swasthyakhabar
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्