कतिपय स्वास्थ्य संस्थामा थर्ममिटरसमेत छैन

मङ्गलबार, १८ माघ २०७३

 

काठमाडौं– नेपालका स्वास्थ्य संस्थाहरुबारे गरिएको एक सर्वेक्षणले विशेष गरी सरकारी स्वास्थ्य संस्थाको अवस्था नाजुक देखाएको छ। स्वास्थ्य संस्थामा ज्वरो र रक्तचाप मापन गर्ने उपकरण समेत नरहेको एक अध्ययनले देखाएको हो। नेपालमा पहिलो पटक गरिएको ‘स्वास्थ्य संस्था सर्वेक्षण–२०१५’ ले ७ प्रतिशत सरकारी स्वास्थ्य संस्थामा थर्मोमिटर र ६ प्रतिशतमा रक्तचाप नाप्ने उपकरण समेत नरहेको अनौठो प्रतिवेदन सार्वजनिक गरेको हो। जबकि २५ रुपैयाँमा पाउने थर्ममिटर धेरैको घरघरमै हुनेगर्छ।

 

स्वास्थ्य संस्थामा अत्यावश्यक उपकरण उपलब्धताको स्थिति हेर्दा ९३ प्रतिशत संस्थामा थर्मोमिटर, ९४ प्रतिशतमा रक्तचाप उपकरण र ९८ प्रतिशतमा स्टेथेस्कोप रहेको पाइएको थियो।

 

सर्भेक्षणले तराईका ११ प्रतिशत, हिमालका ८ र पहाडका ५ प्रतिशत संस्थामा थर्मोमिटर नरहेको तथ्य बाहिर ल्याएको हो। सर्वेक्षण अनुसार रक्तचाप नाप्ने उपकरण तराईका ८, हिमालका ६ र पहाडका ४ प्रतिशत संस्थामा छैनन्। डाक्टर तथा स्वास्थ्यकर्मीको घाँटीमा सँधै झुन्ड्याइने स्टेथेस्कोप पनि तराईका ४, हिमालका ९८ र पहाडका १ प्रतिशत संस्थामा नरहेको सर्भेक्षणले देखाएको छ।

 

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रको विकास साझेदारी संस्थाहरुसँगको सहकार्यमा गरेको सर्भेक्षणमा देशभरका ९ सय ६३ वटा स्वास्थ्य संस्थामा सेवाको उपलब्धता, सेवाको पटक र गुणस्तरीय सेवाबारे अनुसन्धान गरेको थियो। सर्भेक्षणका क्रममा ती संस्थाहरुमा सेवा लिन आएका चार हजारभन्दा बढी सेवाग्राहीसँग अन्तर्वार्ता लिइएको थियो।

 

अध्ययन प्रतिवेदन भनिएको छ, ‘२१ प्रतिशत सरकारी स्वास्थ्य संस्थामा बिरामी जाँच्दा नदेखिने र नसुनिने गरी गोपनीयता कायम राख्ने गरी जाँच गर्ने कोठासमेत छैन।’

 

 

गर्भवतीलाई सामान्य कुरा पनि सोधिन्न
सर्भेक्षणले स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न आउने महिलालाई स्वास्थ्यकर्मीले सोध्नै पर्ने सामान्य कुरा पनि नसोध्ने गरेको देखाएको छ। गर्भ जाँचमा आएका महिलालाई स्वास्थ्यकर्मीले हालसालै केही औषधिहरु सेवन गरे/नगरेको विषयमा अनिवार्य रुपमा सोध्नुपर्ने हुन्छ। तर, जम्मा १२ प्रतिशत संस्थाले मात्र गर्भवतीलाई उक्त विषयमा सोध्ने गरेको पाइयो। गर्भ जाँचकै लागि आएका महिलालाई अन्तिम पटक कहिले महिनावारी भएको थियो भन्ने विषयमा समेत २२ प्रतिशत स्वास्थ्य संस्थामा नसोधिएको सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ।

 

गर्भ जाँचका लािग पहिलो पटक स्वास्थ्य संस्थामा आएका महिलाको रगतमा हेमोग्लोविनको जाँच अनिवार्य मानिन्छ। यस्तै, पिसाबमा प्रोटिन र ग्लुकोजको जाँच गर्नुपर्छ। तर, यी विषयमा समेत स्वास्थ्यकर्मीले महिलालाई जानकारी नगराएको रिपोर्टमा उल्लेख छ। ५७ प्रतिशत संस्थाले महिलालाई हेमोग्लोविन जाँच गर्न नभनेको र ५९ प्रतिशत संस्थाले पिसाब जाँच गर्ने विषयमा जानकारी नदिएको पाइयो।

 

एचआइभी परीक्षण ८६ प्रतिशत संस्थामा
एचआइभी परीक्षण र परामर्श सेवा जिल्ला, अञ्चल, क्षेत्र र केन्द्र अस्पतालमा अनिवार्य हुन्छ। तर ८६ प्रतिशत अस्पतालमा मात्र एचआइभी संक्रमणको परीक्षण हुने गरेको सर्वेक्षणले देखाएको छ। त्यसमध्ये ६९ प्रतिशत जिल्ला अस्पताल र ५७ प्रतिशत एकल संस्थामा उक्त परीक्षण हुने गरेको भेटिएको सर्वेक्षणमा उल्लेख छ।

 

संक्रमण नियन्त्रणको अवस्था नाजुक
सरकारी स्वास्थ्य संस्थामा संक्रमण नियन्त्रणका लागि पर्याप्त व्यवस्थापन नगरिएको सर्भेक्षणले देखाएको छ। सरकारी संस्थाको तुलनामा निजी संस्थाले भने संक्रमण नियन्त्रणका लागि राम्रो प्रयास गरेको सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ। ७९ प्रतिशत संस्थामा मात्र निर्मलीकरण गर्ने उपकरणहरु भेटिएका थिए। यस्तै किटाणुनाशकको व्यवस्था ३८ प्रतिशत संस्थामा थिएनन्। जसका कारण संक्रमणको डर स्वास्थ्य संस्थामा अत्यधिक रहेको देखिएको छ।

 

आधा स्वास्थ्य संस्थामा बिजुली छैन
धेरैजसो स्वास्थ्य संस्थामा आधारभूत सुविधाको कमी रहेको प्रतिवेदनले जनाएको छ। प्रतिवेदनले भन्छ, ‘आधाजसो स्वास्थ्य संस्थामा नियमित बिजुलीको व्यवस्था छैन। ८० प्रतिशत संस्थामा सञ्चार उपकरणको अभाव छ। यसैगरी, झन्डै २० प्रतिशत स्वास्थ्य संस्थामा सुरक्षित पानीको स्रोत र शौचालयको सुविधा छैन।’ यसका साथै ४१ प्रतिशत स्वास्थ्य संस्थामा आकस्मिक यातायातको सुविधा नरहेको सर्वेक्षणले औँल्याएको छ। कम्प्युटर र इन्टरनेटबाहेक अस्पताललाई आवश्यक सम्पूर्ण सुविधा ११ प्रतिशत संस्थामा मात्र उपलब्ध छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको