केन्द्रीय अस्पतालमै हाइड्रोशिलको शल्यक्रिया गर्न एक बर्ष कुर्नुपर्ने !

बिहिबार, ०६ बैशाख २०७५

काठमाडौँ,  सामान्य त सरकारको केन्द्रीय अस्पताल भनिसकेपछि उपचार सेवा पनि चुस्त र छरितो होला भन्ने अनुमान हुन्छ । तर राजधानीमा रहेका केही केन्द्रीय अस्पतालले सामान्य स्वास्थ्य समस्याको शल्यक्रिया गर्न एक बर्षसम्म पालो पर्खाउने गरेको पाइएको छ ।

 

महालेखा परीक्षकको ५५ औँ बार्षिक प्रतिवेदनले केन्द्रीय अस्पतालको रुपमा रहेको कान्ति बाल अस्पतालमा हर्निया र हाइड्रोशिलको शल्यक्रिया विरामीले गर्न १२ महिनासम्म पालो पर्खनुपर्ने उल्लेख गरेको छ । उता सबैभन्दा जेठो सरकारी अस्पताल बीरमा सामान्य शल्यक्रिया गर्न ६ महिनासम्म पालो पर्खनु पर्दछ ।

 

महालेखाको प्रतिवेदनमा महिलाहरुको केन्द्रीय अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पाठेघरको शल्यक्रिया गर्न ३ महिनासम्म पालो पर्खनु पर्ने उल्लेख गरेको छ । यस्तै मुटुको उपचार हुने केन्द्रीय अस्पताल सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुरोगको शल्यक्रिया गर्न २ महिनासम्म पर्खनुपर्ने स्थिति रहेको जनाएको छ ।

 

महालेखाले ती अस्पतालहरुको शल्यक्रिया सम्बन्धी विवरण माग गरी विश्लेषण गर्दा यस्तो अवस्था पाइएको उल्लेख गरेको छ ।

 

अस्पतालहरुले भने भौतिक पूर्वाधारको तुलनामा विरामीको चाप अधिक रहेकाले यस्तो स्थिति रहेको महालेखा परीक्षकको कार्यालयलाई जानकारी दिएको सो प्रतिवेदनमा उल्लेख छ । तर परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा अस्पतालले समयमा नै सेवा दिन नसकेका कारण विरामीहरु उपचारका लागि निजी अस्पताल जानुपर्ने अवस्था आएको भन्दै यसमा सुधार गर्न सुझाव दिएको छ ।

 

महालेखाको यस्तो प्रतिवेदन आउनु अघि नै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारी अस्पतालमा शल्यक्रिया गराउन चाहनेले बर्षौसम्म पालो पर्खनुपर्ने भएको भन्दै यसमा सुधार गर्न आफ्नो प्रयास रहने बताएकी थिइन ।

 

उनले विभिन्न सरकारी अस्पतालका प्रमुखसंग चाप घटाई छिटो पालो आउने व्यवस्था मिलाउन छलफल समेत राखेकी थिइन ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको