नर्सको तलव : छ महिना भोलेन्टियर पछि मासिक छ हजार ?

आइतबार, ३० बैशाख २०७५

 

रातदिन विरामीको सेवामा खटिने नर्सको मासिक तलव नेपालका अस्पतालमा कति होला ? २० हजार, ३० हजार वा ४० हजार ? होइन, तलव त मासिक छ हजार पो छ । त्यो पनि छ महिना भोलेन्टियर गरेपछि । ‘तर भन्नलाई हामीले अरुसंग १० हजार भनेका छौँ ,’ राजधानीको एक निजी अस्पतालमा काम गर्ने राधिका क्षेत्रीले भनिन् ।

६ लाख बढी तिरेर बीएस्सी नर्सिङ सकाएकी उनले ६ हजारको जागिर पाउन ६ महिना भोलेन्टियर गर्नुपरेको दुखेसो पोखिन् ।
अर्की नर्स विनिता शर्माको तलव भने राधिकाको भन्दा केही बढी छ । उनले मासिक साढे आठ हजार बुझ्छिन् । भन्छिन्, ‘तलव त थोरै नै हो अनुभवको लागि काम गरेकी हुँ । एक बर्ष काम गरेपछि बाहिरको लागि प्रयास गर्ने हो । धेरै तलव त उतै गएर बुझ्ने हो ।’

सरकारी अस्पतालहरुमा भने निजीको तुलनामा सुविधा धेरै हुने गरेको छ । करारमै नियुक्त भएपनि उनीहरुलाई मासिक रुपमा सरकारी सुविधा सरह तलव पाउने छन् ।

तर च्याउसरी खुलेका नेपालका नर्सिङ कलेजहरुले विद्यार्थीसंग मन लाग्दो शुल्क उठाउँछन् । तर अध्ययन सकेपछिको जागिर गर्ने बेलामा उस्तै आपत छ ।

नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेल भन्छिन्, ‘कतिपय अस्पतालहरुले नर्सहरुको सुविधा सामान्य श्रमिकको जति पनि दिएका छैनन् । भोलेन्टियरको नाममा श्रमको शोषण भइरहेको छ । हामीले आवाज त उठाएकै छौँ तर राज्यले त्यसका लागि अनुगमन र कडाई गर्नलाई सहयोग गरिरहेको छैन ।’

उनले नर्सको सुविधाको विषयमा पटक पटक राज्यको ध्यानाकर्षण गराएको भन्दै श्रम शोषण नरोकिए सेवा छाडेर आन्दोलनमा उत्रिने चेतावनी समेत दिइन ।

स्वदेश सहित भारतका विभिन्न स्थानका कलेजबाट बर्षेनी ठूलो संख्यामा नर्स उत्पादन भइरहेको छ । त्यसैको फाइदा उठाउँदै कतिपय निजी अस्पतालहरुले उनीहरुलाई अनुभवको लागि भन्दै स्वयंसेवी नर्सको रुपमा राख्ने गरेका छन् । नयाँ पुस्ताका कतिपय नर्सहरुले पनि विदेशीने चक्करमा स्वदेशका अस्पतालहरुमा भोलेन्टियर वा ज्यादै न्युन तलवमा काम गर्ने गरेका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको