मृत्युशैय्याबाट छोरीलाई चिठी

मङ्गलबार, ०१ जेठ २०७५

एजेन्सी-

अल एरिका ज्याकलाई खेल्न मन लाग्छ । चिडियाखानामा घुमाउन मन लाग्छ । छोरीको स्कुल जान मन लाग्छ । तर आमाका यी भूमिका निर्वाह गर्न उनले सक्दिनन् ।

३८ वर्षीया एरिका यतिखेर मृत्युसँग संघर्ष गरिरहेकी छन् । चारवर्षअघि छोरी लियोन जन्मिएपछि उनको यस्तो संघर्ष सुरु भयो । उनमा कोलोन क्यान्सर चौथो चरणमा पुगिसकेको रहेछ । जुन कलेजोसम्म फैलिइसकेको छ ।

कोलोनमा भएको ट्युमर त शल्यक्रिया गरेर निकालियो । तर कलेजोको ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल हुन सकेन । कलेजोमा प्वाल परिसकेको रहेछ र पित्त नलीमा समेत क्षति पुगिसकेको रहेछ ।

 

हरेक दिन उनी मृत्युसँग संघर्ष गरिरहेकी छिन् । एक वर्षमा १९ पटकसम्म ओरेगनको अस्पतालमा भर्ना भइसकेकी छन् । संक्रमण, रक्तस्राव र अन्य खालका स्वास्थ्य समस्याले सताइरहेको छ । 


कलेजोमा उच्च रक्तचाप छ, जुन खतरा हुने डाक्टरहरुको भनाई छ । उनलाई हेरिरहेका सर्जिकल अंकोलोजिष्ट एरिकालाई संक्रमण हुने र मृत्युको मुखमा पर्न सक्नेमा चिन्तित छन् । अब कलेजो प्रत्यारोपण नगरिए यसैवर्षको अन्त्यसम्म उनको मृत्यु हुनसक्ने डाक्टरहरुले बताएका छन् ।

 

उनको उपचारमा संलग्न ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीकी स्के मायो भन्छिन्, ‘प्रत्येकपटकको टेलिफोनमा उनी ज्वरो आएको र रगत बगेको बताउछिन्, हामी श्वास रोकेर उनका कुरा सुन्छौं र चिन्ता लाग्छ¬ के एरिकाको मृत्यु नजिक आएको हो ?’ 

अमेरिकाका तीन उत्कृष्ट मेडिकल सेन्टरका १ सयभन्दा बढी डाक्टरहरुले उनको केस हेरिसकेका छन् । उनीहरु सबैको निष्कर्ष छ, ‘एरिकालाई बचाउने एउटैमात्र उपाय हो, कलेजो प्रत्यारोपण ।’ 


डिसेम्बर र जनवरीमा क्लिभल्याण्ड क्लिनिकमा विश्लेषणपछि डाक्टरहरुले अन्ततः उनलाई कलेजो प्रत्यारोपणका लागि प्रतिक्षासूचीमा राख्ने निर्णय गरे । यसले एरिकामा आशाको सन्चार गरायो । 
यो समाचार गाईंगुईं सुनेकी उनकी ४ वर्षीया छोरी लियो भन्ने गर्छिन्, ‘ममी तपाईंले कहिले नयाँ कलेजो पाउनुहुन्छ, मलाई पिङ कहिले खेलाइदिनुहुन्छ ?’

तर आशाको सन्चारमा अर्को धक्का लाग्यो । उनको बिमा गरेको युनाइटेड हेल्थ केयरले कलेजो प्रत्यारोपणको खर्च बेहोर्न अस्वीकार ग¥यो । प्रत्यारोपणले उनको जीवन बचाउने प्रत्याभूत गर्न नसक्ने बिमा कम्पनीको तर्क थियो । उनले पुनः निवेदन दिइन् । तर अस्वीकार गरियो ।

 

अन्ततः एरिका ओरेगनको ‘डेथ विथ डिग्नीटी’ कार्यक्रममा सहभागी हुन चाहिन् । छोरीले आफ्नो मृत्युपछि पढोस् भनेर केही महिनाअघि उनले एउटा चिठी लेखिन् :

प्रिय छोरी, 
तिमीले यो चिठी पढिरहेको बेला सम्भवतः म यो संसारमा हुनेछैन । त्यसैले यी कुरा सधैं सम्झ है । 
छोरी तिमीले मलाई देख्न नसकेपनि, तिम्रा कपालमा मेरो हातको स्पर्श नपाएपनि म तिमीसँग सधैं रहनेछु । जब तिमीले आकाशमा हेर्नेछ्यौ, साना चराहरु आकाशमा स्वतन्त्र रुपले उडिरहेका हुनेछन्, तिम्रो आँखामा ताराहरु चम्कनेछन्, त्यतिबेला म तिमीसँगै हुनेछु । तिम्रो मायालु अनुहारमा तातो हावा पर्दा जब तिमीले पूर्ण महसुस गर्नेछौ, म त्यतिबेला तिमीसँगै हुनेछु । 

एरिकाले बिमा कम्पनीका कार्यकारी डेभीड विन्चमानलाई पेज लामो चिठी लेखेर एकचोटी सोचिन आग्रह गरिन् । कम्पनीले निर्णय गर्न पुनः  लामो समय लगायो । जबाफ उही थियो अस्वीकार ।


त्यसपछिका महिनामा उनले थुप्रैपटक बिमा कम्पनीलाई अनुरोध गरिन् । तर पनि निर्णय नआएपछि एकदिन उनले लेखिन्, ‘अब कलेजो पूर्ण रुपमा फेल हुनमात्र बाँकी छ, त्यही कुरिरहेको छु, मृत्यु कुरिरहेको छु, तर बाँच्ने आशा अझै बाँकी छ ।’

जीवन बचाउने शल्यक्रियाका लागि १ लाखभन्दा बढी अमेरिकीहरुले प्रतिक्षा गरिरहेका छन् र हरेक घण्टा कोही न कोही मृत्युको मुखमा पुगिरहेका हुन्छन् । एक तथ्यांकअनुसार कलेजो प्रत्यारोपणका लागि मात्र २० हजार अमेरिकीहरु प्रतिक्षा सूचीमा छन् । सन् २०१८ को अहिलेसम्म ७ हजार जनाले नयाँ कलेजो पाइसकेका छन् । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको