निपा भाइरस फैलियो, मृत्यु हुनेको सङ्ख्या बढ्दै

बुधबार, ०९ जेठ २०७५

 

भारत- दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिए। 

मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण गरिसकेका छौँ । जसमध्ये १२ नमूनामा निपा भाइरसको सङ्क्रमण भेटिएको छ । सङ्क्रमित १२ मध्येमा १० जनाको मृत्यु भएको छ भने दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।’ 

विगत २४ घण्टामा निपाको सङ्क्रमण भएका कुनै नयाँ बिरामी अस्पतालमा आएको जानकारी छैन,’ उनले भने। 

मङगलबार बिहान प्राणघातक निपा भाइरसको सङ्क्रमण भै कोझिकोडे मेडिकल कलेज अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको थियो। 

मन्त्री सैलाजाले सोमबार दिएको जानकारी अनुसार निपा भाइरसबाट सङ्क्रमित बिरामी एक्कासी देखा परेको र यो बिरामीसँगको प्रत्यक्ष सम्पर्कबाट फैलिएको बताएका थिए। रोगको प्रकोपको समस्या अहिले नियन्त्रणमा आइसकेको र कुनै पनि निपा सङ्क्रमित रोगीको भारतीय सबै अस्पतालहरूमा उपचार गर्नेगरी व्यवस्था गरिएको उनले बताए।

मुख्यमन्त्री पिनरायी भिजयनले पनि निपाको सङ्क्रमण भेटिएसँगै राज्य सरकारद्वारा निकटमा रहेर समस्याबारे अनुगमन गरिरहेको र यसलाई थप फैलिन नदिन आवश्यक कदम चालिसकेको बताए। 

निपाको सङ्क्रमणको बिषयलाई साबधानीसाथ लिँदै संघीय सरकारका स्वास्थ्य मन्त्री जे पी नाडाले छ विशेषज्ञ चिकित्सक रहेको एक समूह बनाई निपाको प्रकोपबारे छानविन गर्न निर्देशन दिएका छन्। रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको