महिलालाई दुःख दिने अब्स्टेट्रिक फिस्टुला, यी चार अस्पतालमा हुन्छ नि:शुुल्क उपचार

बुधबार, ०९ जेठ २०७५

 

काठमाडौं-  आज विश्व अब्स्टेट्रिक फिस्टुला अन्त्य दिवस विश्वभर मनाइदै छ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइन्छ।

अब्स्टेट्रिक फिस्टुला (निरन्तर अनियन्त्रित रुपमा पिसाब तथा दिसा बग्ने समस्या) हो। लामो समयसम्म प्रसव व्इथा लाग्दा बच्चाको टाउकोले आमाको योनीमार्ग, पिसाब थैली वा मलाशयमा धेरै समयसम्म थिच्दा पिसाब थैली, योनी मार्ग वा मलाशयमा पर्ने प्वाललाई अब्स्टेट्रिक फिस्टुला भनिन्छ।

 

विकसित देशहरुमा एक शताब्दि अघि नै निर्मूल भएको यो समस्या दक्षिण एसियाली मुलुक, अरबी मुलक र अफ्रिकामा अहिलेपनि ठूलो समस्याका रुपमा रहेको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपिए)का अनुसार विश्वमा २० लाख महिला यो समस्याबाट पिडित छन् भने हरेक बर्ष ५० हजारदेखि १ लाख पिडीत थपिईरहेका छन् तर विश्वव्यापी उपचार क्षमता ६५हजार मात्र छ । नेपालमा सरकारी निकायसँग फिस्टुला सम्बन्धि तथ्याङ्क छैन ।

 

तर यस सम्बन्धि भर्खरै काम गरिरहेको फिस्टुला फ्रि नेपालका अनुसार नेपालमा करिब ५० हजार पिडीत रहेको अनुमान छ भने हरेक वर्ष ५ सय देखि १ हजारसम्म नयाँ फिस्टुला प्रभावितको संस्या बढिरहेको छ । त्यसमध्ये बढिमा १ सय जनाको मात्र उपचार हुने गरेको छ। 

फिस्टुला समस्या नेपाल जस्ता विकाससिल देशहरुमा जटिलरुपमा रहेको छ । तर यसतर्फ सरकारले पूर्णरुपमा कार्यक्रम ल्याउन सकेको छैन। बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मिति भन्दा ढिलो बच्चा जन्मियो भने बच्चाको अंगले आमाको पिसाब नलीमा प्वाल पारिदिने बढी सम्भावना हुन्छ । त्यसरी पिसाब नलिमा प्वाल परे पिसाब रोक्न सकिंदैन । यसरी निरन्तर पिसाब बगिरहने समस्यालाई अब्स्टेट्रिक फिस्टुला भनिन्छ।

 

यी अस्पतालमा हुन्छ नि:शुल्क उपचार

सरकारले हालसम्म स्वामित्व लिएर फिस्टुलाको उपचार, रोकथाम जस्ता कार्यक्रम गर्न सकेको छैन। हाल संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपिए)को सहयोगमा पाटन हस्पिटल, मोडल हस्पिटल, विपी प्रतिष्ठान धरान र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा फिस्टुला पिडित महिलाहरुको निःशुल्क उपचार हुँदै आएको छ।

सरकारले तोकेको अस्पताल बाहेक अन्यत्र फिस्टुलाको उपचार महंगो भएकाले सर्वसाधारणका लागि समयमा उपचार गर्न कठिन पनि छ । फिस्टुलाको अप्रेसन गर्न कम्तीमा ५० हजार नेपाली रुपैयाँ लाग्छ भने २१ दिन अस्पताल बस्नुपर्छ । फिस्टुला भएपछि पीडित महिलाहरुले परिवार, आफन्त र समाजका दृष्टिमा छिःछि दुरदुरका पात्र बन्छन् । परिवारले नै शारीरिक वा साथै मानसिक समस्या समेत भोग्नु परेको अवस्था छ।

विश्वका गरिब तथा विकासोन्मुख देशहरुमा फिस्टुला जटिल समस्याका रुपमा रहेको छ । दक्षिण अफ्रिका, बुरुण्डी जस्ता गरिब मुलुकमा बिकराल समस्याका रुपमा रहेको निरन्तर पिसाब बग्ने रोग (फिस्टुला) नेपालमा गाउँ गाउँमा लुकेर रहेको छ । अधिकांश सर्वसाधारण लाई फिस्टुलाबारे ज्ञान छैन । यो रोगसँग धेरै जसो स्वास्थ्यकर्मीहरु समेत परिचित छैनन्।

-काठमाडौं मोडल अस्पतालमा उपचाररत महिलाहरुको तस्बिर फिस्टुला फाउन्डेसनबाट लिइएको हो।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको