प्रदेश २ का मुख्यमन्त्रीको तलब झन्डै ६१ हजार

बिहिबार, ३१ जेठ २०७५

 

प्रदेश २ का मुख्यमन्त्रीले मासिक तलब ६० हजार नौ सय ७० रुपैयाँ पाउने भएका छन् । उनले सञ्चार, इन्धन, अतिथि सत्कारलगायत शीर्षकमा भत्ता ३० हजार पाँच सयभन्दा बढी पाउनेछन् । प्रतिमहिना तीन सय लिटर इन्धन र १० लिटर मोबिल पनि पाउनेछन् ।

 

प्रदेश सभाले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा–सुविधा र प्रदेश सभा सदस्य तथा पदाधिकारीको पारिश्रमिकसम्बन्धी दुई विधेयक मंगलबारको बैठकले पारित गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी कानुनमा मुख्यमन्त्रीले प्रतिमहिना इन्धनबापत तीन सय लिटर पेट्रोल पाउनेछन् । त्यस्तै १० लिटर मोबिल पनि पाउनेछन् ।

मन्त्रीले ५७ हजार सात सय ८० रुपैयाँ तलब पाउनेछन् । राज्यमन्त्रीले ५६ हजार चार सय ९० र सहायक मन्त्रीले ५३ हजार तलब पाउनेछन् । मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले नै विशेष भत्ता प्रतिमहिना हजार रुपैयाँ पाउनेछन् ।

 

सञ्चार तथा पत्रपत्रिका खर्चका लागि मन्त्रीले तीन हजार चार सय, राज्यमन्त्रीले तीन हजार तीन सय र सहायक मन्त्रीले तीन हजार दुई सय पाउनेछन् । मन्त्रीले दुई सय ५०, राज्यमन्त्रीले दुई सय २५ र सहायक मन्त्रीले दुई सय लिटर पेट्रोल पाउनेछन् । त्यस्तै अतिथि सत्कारका लागि मन्त्रीले १५ हजार, राज्यमन्त्री र सहायकमन्त्री १० हजार रुपैयाँ भत्ता पाउनेछन् ।

करिब दुई महिनाअघि प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा–सुविधा र प्रदेश सभा पदाधिकारीको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी विधेयक प्रदेश सभामा दर्ता गराएको थियो । तर, ती विधेयकमा प्रदेश सभा सदस्यको पारिश्रमिक तथा सेवा–सुविधा कम भएको भन्दै सांसदले विरोध गरेका थिए ।

सांसदको विरोधपछि प्रदेश सभाबाटै ६ सदस्य समिति गठन गरिएको थियो । समितिको सिफारिसअनुसार संशोधनसहित विधेयक सोमबारको प्रदेश सभा बैठकले पास गरेको छ ।

प्रदेश सांसदलाई अधिकृतस्तरका स्वकीय सचिव प्रदेश सरकारले प्रदेश सभा पदाधिकारीको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ल्याएको विधेयकमा प्रदेश सांसदको स्वकीय सचिवको व्यवस्था गरिएको थिएन ।

तर, प्रदेश सभाबाटै गठन गरिएका सेवा–सुविधा अध्ययन समितिले संशोधनसहित ल्याएको विधेयकमा प्रत्येक सांसदलाई तृतीय श्रेणीका स्वकीय सचिवको सुविधा दिने व्यवस्था छ ।

त्यसैगरी, प्रदेश सभामुखलाई प्रथम श्रेणीका एक, द्वितीय श्रेणीको एक र तृतीय श्रेणीको एक गरी तीनजना स्वकीय सचिव दिने विधेयकमा उल्लेख छ । उपसभामुख, विपक्षी दलका नेता, सत्तापक्षको प्रमुख सचेतक, सत्तापक्षका मुख्य सचेतक र समितिका सभापतिहरूलाई दोस्रो श्रेणीका स्वकीय सचिवको सुविधा दिइने विधेयकमा उल्लेख छ ।

सभामुखलाई अतिथि सत्कारबापत प्रतिमहिना क्रमशः १८ हजार, उपसभामुखलाई १५ हजार, विपक्षी दलका नेतालाई १५ हजार र दलका नेता तथा सचेतकहरूलाई १० हजार दिने विधेयकमा उल्लेख छ ।

 

सभामुखको तलब ५९ हजार

प्रदेश सभा सदस्य तथा पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयकअनुसार सभामुखले ५९ हजार रुपैयाँ तलब पाउनेछन् । उनले अतिथि सत्कार, इन्धन, सञ्चारलगायत खर्चका लागि थप झन्डै २५ हजार पाउनेछन् ।

उपसभामुख र प्रमुख विपक्षी दलका नेताले ५७ हजार सात सय ८०, दलका प्रमुख सचेतक र सचेतकले ५६ हजार चार सय ९० र प्रदेश सांसदले ५३ हजार तलब पाउनेछन् । त्यसका अतिरिक्त सञ्चार र बैठक भत्ता पनि पाउनेछन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको