रेल काठमाडौं पुर्‍याउन चीन सहमत, लगानीको टुंगो आज

बिहिबार, ०७ असार २०७५

 

चिनियाँ रेलको टुंगो आज : रेल काठमाडौं पुर्‍याउन चीन सहमत, तर लगानी कसको र कति भन्ने विषय अझै अस्पष्ट

उत्तरी रेल काठमाडौं पुर्‍याउने विषयमा चीन र नेपाल सैद्धान्तिक रूपमा सहमत भएका छन् । तर, लगानी कसको हुने भन्ने विषयमा टुंगो आज मात्र लाग्नेछ । चीन भ्रमणको दोस्रो दिन बुधबार प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटमा रेलको विषयमा पनि संवाद भएको थियो । तर, लगानी कसको भन्ने विषयमा टुंगो लागेको छैन ।

 

 

रेल काठमाडौं पुर्‍याउन चीन सहमत छ । प्रधानमन्त्री ओलीसँगको भेटमा राष्ट्रपति सीले भने, ‘बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको छ । काठडमाडौं टाढा छैन, के गर्नुपर्छ, छलफल गर्न चीन तयार छ ।’ रेल काठमाडौं पुर्‍याउन चीनले सम्पूर्ण रूपमा अनुदान नदिने उनको भनाइले संकेत गरेको छ ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि रेल काठमाडौं पुर्‍याउन चीन सहमत भएको स्पष्ट पारेका छन्, तर लगानी कसको भन्ने विषयमा उनी आफैँ पनि अस्पष्ट छन् । ‘हामीले चीनसँगको सम्बन्धलाई महत्वमा राखेका छौँ, सहयोग त्यसपछिको कुरा हो,’ उनले भने, ‘पूर्वाधार, कनेक्टिभिटी, क्रसबोर्डर ट्रान्समिसन लाइन र उत्तर–दक्षिण रेलमार्गका विषयमा एकतर्फी परनिर्भरता हटे हुन्थ्यो भन्ने हिसाबले कुरा राखेका छौँ, हाम्रो भनाइलाई चिनियाँ राष्ट्रपतिले सकारात्मक रूपमा लिनुभएको छ ।’ मन्त्री ज्ञवालीका अनुसार रेलको पूर्व सम्भाव्यता अध्ययन अगस्टमा सक्नेगरी समझदारी हुँदै छ । त्यसपछिको डेढ वर्षमा डिपिआर तयार गर्ने र पाँच वर्षभित्र रेल काठमाडौं ल्याउने तयारी छ ।

 

नेपालको स्वतन्त्रतामा साथ छ
नेपालले लिएको एक चीननीति स्वागतयोग्य छ । नेपालको राष्ट्रिय स्वतन्त्रताका लागि सहयोग रहन्छ । आफ्नो राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताका लागि लिने नीति तथा सामाजिक प्रणाली तथा विकासको बाटोमा नेपालको स्वतन्त्र नीतिको लागि चीन साथमा रहनेछ ।

 

हिमाली जडीबुटीलाई चिनियाँ बजारमा पहुँच दिन्छौँ
नेपाली उत्पादन खासगरी हिमाली क्षेत्रमा उत्पादित जडीबुटीलाई चिनियाँ बजारमा पहुँच दिन्छौँ । आगामी नोभेम्बरमा हुने संघाई इम्पोर्ट एक्स्पोमा नेपाली उत्पादनलाई पहुँच दिन सहयोग रहन्छ । हिमाली क्षेत्र मिलाएर विशेष आर्थिक क्षेत्र बनाउन सकिन्छ । साथै स्वतन्त्र व्यापारसम्बन्धी अध्ययनलाई छिटै टुंग्याएर कार्यान्वयनमा जान सकिन्छ ।

 

हाम्रो सम्बन्धले अरूलाई समस्या पर्दैन
चीनले नेपालको सम्बन्ध अन्य सबै देशसँग राम्रो भएको हेर्न चाहेको छ । हामी नेपालको सम्बन्ध सबै देशसँग राम्रो होस् भन्ने चाहन्छौँ । र, नेपाल–चीन सम्बन्ध मजबुत बन्दा अन्य देशलाई समस्या पर्दैन ।

 

Source: Enayapatrika


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको