नेपालिलाई क्यान्सर रोग लाग्नुको प्रमुख कारण के हो ? मेडिकल अन्कोलोजिष्ट डा. सुदिप श्रेष्ठको लेख

सोमबार, ११ असार २०७५

विश्वमा अहिले क्यान्सर माहामारीको रुपमा देखा परेको छ । बद्लिदो जीवनशैली नै यसको मुख्य कारण हो । विशेषगरी, धुवाँधुलो, वायु प्रदुषण, औद्योगीकरण (जहाँ रसायनको प्रयोग बढी हुन्छ) लगायतका कारण पनि विश्वमा क्यान्सर रोगको जोखिम बढ्ने क्रममा छ । नेपालमा क्यान्सर रोग भयावह अवस्थामा छ ।

 

नेपालमा क्यान्सर रोग लाग्नुको मुख्य कारण ?

क्यान्सर रोग विभिन्न प्रकारका हुन्छ । उमेरका आधारमा हेर्ने हो भने बच्चाहरुमा हुने क्यान्सर एक प्रकार हुन्छ । जुन आफैमा भिन्न हो । जीनमा खराबी आएमा बालबालिकालाई क्यान्सर हुने भएको यो प्राय वंशाणुगत हुँदैन । यो जीवनशैलीसित सम्बन्धि पनि हुँदैन ।

त्यस्तै, युवामा देखिने क्यान्सर आफैमा भिन्न प्रकारको छ । पछिल्लो समय युवाहरुमा देखिने यस्ता क्यान्सर नेपालमा १० -१५ वर्ष अगाडी नै देखा पर्न थालेको छ । यसको मुख्य कारण वंशाणुगत तथा खानपान नै हो । साथै, युवा अवस्थामा देखिने त्यस्ता क्यान्सर अन्यको तुलनामा बढी आक्रामक हुन्छ ।

 

नेपालमा क्यान्सर रोग लाग्नुको अन्य कारण ?

सुर्तीजन्य पदार्थको सेवन– नेपालमा क्यान्सर रोग लाग्नुको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवनलाई मानिन्छ । सुर्तीजन्य पर्दाथको सेवनले फोक्सो, मुख, घाँटीे, अन्ननली, पिसाब थैली, पेट लगायतका शरीरमा विभिन्न भागको क्यान्सर गराउँछ । सुर्तीजन्य पदार्थ अरु थुप्रै क्यान्सरहरुसित पनि सम्बन्धित हुने गर्छ ।

यद्यपी, धुमपान वा सुर्तीजन्य पदार्थको सेवन गर्ने मानिसहरुलाई यस्ता निश्चित ठाउँको क्यान्सर भने बढी हुने गर्छ ।

मदिरापान– शरीरमा क्यान्सर गराउने अन्य तत्वमा मदिरापान पनि एक हो । निश्चित मात्रामा मदिरापानको सेवनले शररिमा औषधीको रुपमा काम गर्छ । तर आवश्यक्ता भन्दा बढी मात्रामा मद्यपानको सेवनले शरीरमा क्यान्सर रोग निम्त्याउने गर्छ । धेरैजसो मानिसले मदिरा सेवन गर्दा धुमपानपनि सँगै गर्ने गर्छ । र, धुमपानका साथमा मदिरापान गर्नाले क्यान्सर हुने जोखिम उच्च हुने गर्छ ।

 

बद्लिदो जीवनशैली– बद्लिदो जीवनशैलीका कारण पनि क्यान्सर हुने सम्भावना अधिक हुने गर्छ । आजकल प्रायः मानिस एकै ठाउँमा बसेर लामो समय काम गर्ने गर्दछन् । उनीहरुमा शारीरीक श्रमको कमी हुनुका साथै मानसिक काम धेरै हुने गर्छ । जसले गर्दा उनीहरुमा मोटोपना बढ्नुका साथै उच्च रक्तचाप , मधुमेह लगायतका अन्य रोग लाग्ने सम्भावना समेत बढी हुने गर्छ ।

वंशाणुगत– वंशाणुगत कारणले पनि मानिसहरुलाई क्यान्सर हुने गर्दछ । क्यान्सर मध्य पनि दश प्रतिशत क्यान्सरमात्र वंशाणुगत हुनेमा बाँकी ९० प्रतिशत क्यान्सर हुनुमा विभिन्न कारण हुने गर्छ ।

खानपानको तरीका– कतिपय अवस्थामा खानपानको तरीकाले पनि क्यान्सर रोग निम्तिने गर्छ । शहरी क्षेत्रमा मासुको सेवन बढी हुने गर्छ । मासुमा पनि ‘रातो मासु’ तथा बोसोयुक्त मासुको सेवन धेरै हुने गर्छ । जबकी रातो मासु शरीरका लागि आफै हानीकारक हो भने बोसोयुक्त मासुको सेवन शरीरको लागि झनै हानीकारक छ ।

त्यस्तै, फास्ट फुड, प्रोसेस्ड फुड, प्रोसेस्ड मिट लगायत तारेको, पोलेको, तन्दुरी, परम्परागत तरीकाले मासुलाई सुकुटी बनाउने तरीकाले पनि क्यान्सर रोग लाग्ने सम्भावना धेरै हुने गर्छ । यस्ता खानेकुराको सेवनले पेट तथा आन्द्राको क्यान्सर धेरै हुने गर्छ भने नुनको अधिक सेवनका कारण पनि क्यान्सर हुन सक्छ ।

नुनको सेवन–विशेषगरी हिमाली भेगका मानिस चियामा समेत नुन राखेर पिउँने गर्छन् । चिया समेत नुन राखेर पिउनाले पेटसम्बन्धि क्यान्सर धेरै गर्छ, जुन कुरा अनुसन्धानले समेत प्रमाणित गरिसकेको छ । त्यसबाहेक, केमिकल्सयुक्त खानेकुरा, सडेेगलेको खानेकुरा, ढुसी परेको खानेकुराको सेवनले पनि क्यान्सर हुनसक्छ ।

क्यान्सरको जोखिम कम गर्ने उपाय ?

क्यान्सर रोगको जोखिम कम गर्न हरियो साजसब्जी, तरकारी,फलफुल, गेडागुडी मिसिएका खानेकुरा लगायतको सेवन गर्नु पर्दछ । सुन्तलित तथा पौष्टिक तत्वयुक्त आहारको सेवनले मात्र पनि समाजमा हुने सयवटा क्यान्सरमध्य ३० वटा क्यान्सरको रोकथाम गर्न सकिन्छ । त्यसमा पनि धुमपान तथा मदिरापान नगर्ने हो भने अझै धेरै (करिब ५० प्रतिशत) क्यान्सरलाई हुनबाट जोगाउन सकिन्छ ।

यस्ता कुरा ठूलो भएपछि गर्नु भन्दा पनि सानै बेलादेखि लागु गर्नु पर्दछ । किनकी ५०/६० वर्षको भएपछि मानिसलाई यस्ता कुरा त्याग्न पनि गार्‍हो हुन्छ । र, परिवारका सदस्य तथा स्कुलले पनि यसको सुरुवात् गर्न सकिन्छ ।

जस्तै, बालबाालिकाहरुलाई नुन कम दिने, खाजामा स्वस्थकर खानेकुरा पठाउने, पोषकतत्वयुक्त खानेकुराको सेवन गर्न प्रोत्साहीत गर्ने, स्कुलले जंकफुड पूर्णतया निषेध गर्ने इत्यादी । त्यस्तै, बालबालिकालाई विभिन्न प्रकारका खेलकुदमा पनि सामेल गराएर पनि क्यान्सर रोगको जोखिम कम गर्न सकिन्छ ।
तर, आजकल खेल्ने ठाउँको अभावमा अधिकांश बच्चा घरमै बस्ने गर्दछन् । उनीहरुको अधिकांश समय टिभी तथा कम्प्यूटरमा वित्ने गर्दछ । लामो समय एकै ठाउँमा बस्नाले मानिसहरुमा मोटोपना, उच्च रक्तचाप, मधुमेह, क्यान्सर लगायतका दीर्घकालीन रोग निम्तिने गर्दछ ।

 

क्यान्सर रोग आफैमा कत्तिको डरलाग्दो  रोग हो ?

धेरैजसो मानिस क्यान्सर रोग भन्नासाथ आत्तिने तथा तर्सिने गर्छन् । जबकी क्यान्सर रोग भनेको अन्य दीर्घकालीन रोग सरह नै हो । समयमै उपचार गरेको खण्डमा यो रोग पूर्णतया निको हुन्छ । कुरा महँगो उपचार पद्धति तथा सामाजिक दवावको मात्र हो । विमाले उपचार खर्च समेट्ने हो र समाजले साथ दिने हो भने यो रोगलाई पूर्णतया निको पार्न सकिन्छ ।

कुन उमेरमा क्यान्सर हुने सम्भावना बढी हुने गर्छ ?

क्यान्सर रोग सामान्यतया तीस वर्ष भन्दा बढी उमेरका मानिसलाई हुने भएकोले यसको जोखिममा पनि तीस वर्ष उमेरका मानिस धेरै रहने गर्दछन् । किनकी क्यान्सर रोगलाई प्रभावित गर्ने विभिन्न कारकतत्वमध्य उमेर पनि एक हो । र, जति जति उमेर बढ्दै जान्छ, क्यान्सर हुने सम्भावना पनि त्यति नै बढ्ने गर्छ ।

 

शरीरको सबैभन्दा अप्ठ्यारो भागको क्यान्सर कुन हो ?

शरीरको सबैभन्दा अप्ठ्यारो भागको क्यान्सर भनेको प्यान्क्रियाटिक क्यान्सर, बाइल डक्ट, पित्तथैलीको क्यान्सर नै हो । यस्ता क्यान्सर कलेजो, ठूलो आन्द्रा, पित्तथैली वरिपरिको भागमा हुने भएको समयमै उपचार नगरेको खण्डमा यस्ता क्यान्सर निको हुन कठिन हुनसक्छ । किनकी यसमा औषधीको प्रयोग हुँदैन भने समयमै अपरेशन गरेर यसलाई नहटाएको खण्डमा ज्यादै ढिलो हुन्छ । त्यही भएर पनि यस्ता क्यान्सरलाई निकै अप्ठेरो क्यान्सरहरुको सुचीमा राख्ने गरिन्छ ।

 

के, क्यान्सर निको हुने रोग हो ?

समयमै उपचार गरेको खण्डमा क्यान्सर पूर्णतया निको पार्न सकिन्छ । विशेषगरी, क्यान्सर रोग पहिलो स्टेज अर्थात जुन अंगमा क्यान्सर भएको छ, त्यही अंगमा मात्र सिमित छ भने त्यस्ता क्यान्सर निको हुने सम्भावना ८० प्रतिशतसम्म हुन्छ । त्यस्तै, क्यान्सर रोग यदी स्टेज २ मा छ भने उक्त क्यान्सर केही ठूलो हुनुका साथै झण्डै झण्डै बाहिर फैलिने अवस्थामा पुग्छ । यो स्टेजमा क्यान्सर रोग निको हुने सम्भावना झण्डै ५० प्रतिशत हुन्छ ।

यदी क्यान्सर स्टेज ३ छ भने उक्त क्यान्सर बाहिर फैलिए पनि धेरै टाढा पुगेको हुँदैन । त्यो स्टेजमा अस्पताल पुगेका विरामीमा क्यान्सर रोग निको हुने सम्भावना २० देखि २५ प्रतिशतसम्म मात्र हुन्छ ।

जबकी, स्टेज ४ मा पुग्दासम्म उक्त क्यान्सर एउटा अंगबाट अर्को अंगमा फैलिसक्ने हुदाँ यो स्टेजका विरामीको क्यान्सर भने प्राय निको हुँदैन । त्यसैले, यो स्टेजमा उमेर लम्व्याउने तथा गुणस्तरीय जीवन यापन गर्ने बाहेक अर्को विकल्प रहँदैन ।

 

क्यान्सर रोगका संकेत/पूर्व संकेत ?

क्यान्सर रोग शरीरमा कुनै पनि रुपमा देखा पर्न सक्छ । त्यसैले , यसको लक्षण पनि एउटा मात्र हुँदैन । शरीरका जुन जुन अंगमा क्यान्सर हुन्छ, त्यसका लक्षण पनि सोही प्रकारका हुन्छन् ।

त्यतिमात्र हैन, क्यान्सर रोग लाग्नु भन्दा लागिसकेपछि मात्र थाहा हुने रोग भएकोले पनि यस रोगमा पूर्व संकेत भन्ने खासै धेरै हुँदैन । तैपनि , पाठेघरको मुखमा घाउ आएमा, मुखमा रातो दाग, सेतो दाग देखिएमा पनि मुखको क्यान्सर हुनसक्छ ।
यस अर्थमा शरीरमा कुनै पनि लक्षण देखा पर्‍यो र त्यसको सही उपचार गर्दा पनि एक महिनासम्म पनि उक्त रोग निको नभएमा त्यो दीर्घ रोग वा क्यान्सर हुन सक्दछ । किनकी कुनै पनि रोग उपचार गरेको एक-दुई हप्तामा निको हुने गर्छ ।

त्यसैले, कुनै पनि विरामीलाई लामो समयसम्म यस्ता लक्षण देखा परे तुरुन्तै चिकित्सकसित परामर्श लिन पर्दछ । चाहे त्यो कुनै घाउ होस, गिर्खा होस् वा अन्य कुनै दाग ।

 

नेपालमा क्यान्सर रोगको अवस्था ?

संख्याका हिसाबले हेर्ने हो भने नेपालमा प्रत्येक वर्ष क्यान्सर रोगका विरामीको संख्या बढ्ने क्रममा छ । भौगोलिक अवस्था, रहनसहन, जीवनशैली लगायतले पनि यसमा निकै प्रभाव पार्ने हुदाँ नेपालमा क्यान्सर रोगीहरुको संख्या यत्ति नै छ भन्ने त गार्‍हो छ । तर पनि सबै अस्पतालहरुमा विरामीको अनुपात हेर्दा दश प्रतिशतको हाराहारीमा बढेको अनुमान गर्न सकिन्छ । नेपाल क्यान्सर रिसर्च सेन्टरमा मात्र गत वर्षको तुलनामा यस वर्ष अस्पताल आउने विरामीको संख्या झण्डै ७० प्रतिशतले बढेको पाइन्छ ।

 

नेपालमा क्यान्सर रोगको उपचार ?

नेपालमा पछिल्ला केही वर्षमा क्यान्सर रोगको उपचार गर्ने उच्च गुणस्तरीय प्रविधियुक्त थुप्रै क्यान्सर अस्पतालहरु स्थापना भएका छन् । जहाँ स्टेज १ र २ का क्यान्सरहरु पूर्णतया निको पनि हुन्छ । हामीले पनि यस्ता हजारौ विरामीहरुलाई निको बनाएर घर पठाएका छौ ।

तर विडम्बना, जसलाई क्यान्सर भयो र उनीहरुले नेपालमै उपचार गराएर क्यान्सर रोग निका पारे, त्यस्ता मानिसहरु त यस रोगबारे बोल्नै चाहदैनन् । र, जसलाई क्यान्सर छ, र उनीहरुको उपचार भइरहेको छ , उनीहरुमा पनि भनसुनको भरमा बाहिर जाने प्रविधि हावी हुँदै गएको छ ।

परिणामस्वरुप, नेपालमा राम्रो उपचार सम्भव भईकन पनि मानिसहरुमा क्यान्सर सम्बन्धि धेरै भ्रम फैलिने गरेको छ ।
जबकी भारतमा उपचार हुने एकाध क्यान्सर बाहेक अन्य सबै क्यान्सरकोे उपचार नेपालमै सम्भव छ । उनीहरुलाई उपचारकै लागि कुनै पनि विरामीलाई बाहिर जानु पर्दैन । कतिसम्म भने कुनै जाँच गर्नु परेमा समेत पनि विरामीलाई अहिले बाहिर जानु पर्दैन ।

तर नेपालका प्राय मानिसहरुमा एकोहोरो रहेको पाइन्छ । उनीहरुमा यस किसिमको एकोहोरोपन अहिलेमात्र हैन, पहिले देखि नै विकास भएको पाइन्छ । यही भएरै उनीहरुले क्यान्सर रोग भन्नासाथ भारतको टाटा अस्पताल, राजीव गान्धी क्यान्सर अस्पताल मात्र भन्ने सोच्दछन् । र, क्यान्सर रोगको क्षेत्रमा जतिसुकै विकास भएपनि यहाँका मानिसहरुमा भने क्यान्सर रोग लागेपछि त्यही मात्र जानु पर्छ भन्ने मानसिकताको विकास भएको पाइन्छ ।

नेपालमा क्यान्सर रोगको उपचार कत्तिको महँगो ?

त्यसो त क्यान्सर रोग आफैमा जटिल समस्या भएकोले यसको उपचार महँगो हुनु स्वभाविकै हो । यसमा प्रयोग हुने प्रविधि, उपचार पद्धतिका कारण पनि यसको उपचार महँगो हुने गर्दछ ।

तर पनि सामान्य क्यान्सरको हकमा नेपालमा उपचार खर्च ३ लाख देखि ५ लाख लाग्छ भने रक्तक्यान्सरको हकमा यसको उपचारका लागि नेपालमा पाच देखि सात लाख रुपैयासम्म खर्च लाग्ने गर्दछ ।

क्यान्सर रोगको उपचार महँगो भएकै कारण हाल नेपाल सरकारले विपन्न वर्गलाई क्यान्सर रोगको उपचारमा एक लाख रुपैयासम्म सहयोग गर्दै आएको छ । यद्यपी, त्यो एक लाख रुपैया कस्तो विरामीले पाउने भन्ने स्पष्ट नहुदाँ, त्यसको दुरुपयोग हुने सम्भावना धेरै हुने गरेको छ ।

त्यसैले यसलाई व्यवस्थित गर्नका लागि पनि हामी के भन्ने गर्छौ भने यस्तो व्यवस्था गरेर हुँदैन । जनतालाई सहुलियत दिने नै हो भने सरकारले राष्ट्रिय विमा कार्यक्रमलाई प्रोत्साहन गर्नु पर्दछ । एउटा व्यक्तिको पाच लाख देखि दश लाख रुपैया सम्मको विमा गरेर उक्त विमा रकम पनि क्यान्सर रोगको अवस्था हेरी नेपाल सरकार वा निजि कम्पनीले दिन सक्दछ । र, उक्तमिा रकमद्धारा कुनै पनि व्यक्तिलाई क्यान्सर रोग लागेमा उसले आˆनो पूर्ण उपचार निर्धक्क साथ नेपालका कुनै पनि अस्पतालबाट गर्न सक्दछ । त्यो पनि पूर्ण उपचार ।

 

क्यान्सर रोगमा आयुर्वेदिक पद्धतिलाई पनि प्रभावकारी मानिन्छ ? यसमा के भन्नु हुन्छ ?

क्यान्सर रोगको उपचारका विभिन्न उपचार पद्धतिहरुमध्ये वैकल्पिक उपचार पद्धति (एलोप्याथी)पनि एक हो । वैकल्पिक उपचार पद्धतिलाई आजको दिनमा संसारले समेत मान्दै आएको छ ।

वैकल्पिक उपचार पद्धतिमध्य जडीवुटीको पनि एक हो ।

त्यसमा एउटै कुरा के मात्र हो भने यस किसिमको उपचार पद्धति नेपालमा भित्र्याउँदा वैज्ञानिक आधारमा ल्याउन सकिन्छ ।
नेपालमा भएकै मध्य पनि यस्ता पनि जडीबुटी छन्, त्यसमा पनि हामीले एन्टी क्यान्सर इफेक्ट पाएका छौ । जसले क्यान्सर रोग निको पार्न निकै मद्दत गर्छ । यस सम्बन्धि काम गरेका अनय साथीहरुले पनि यसमा काम गर्दै आएका छन् । तर, विडम्बना नेपालमा जति पनि यस्ता औषधी भएका छन्, त्यसको कुनै अनुसन्धान तथा खोजविन भएको पाइदैन । बरु मानिसहरुले भनेकै आधारमा हामी त्यसको पछि लाग्दै आएका छौ । यसले केही मानिसलाई राहत दिए पनि धेरैमा भने नकारात्मक असर पार्न सक्छ ।

परिणामस्वरुप, कयौ मानिस क्यान्सर रोग निको नहुने अवस्थामा पुगेपछि मात्र चिकित्सकको सम्पर्कमा पुग्दछन् ।
यो नहोस् भन्नका लागि पनि ‘चेक एण्ड व्यालेन्स’ हुन जरुरी छ ।

 

Source: Onlinekhabar

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको