विदेशबाट फर्किएर गाउँमै तरकारी खेती

बिहिबार, ०८ साउन २०७७

 

महेन्द्रनगर-कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामका निरञ्जन धामी कृषि पेशामा लागेको डेढ वर्ष भयो । कृषि पेशामा लाग्नुअघि मास्टरको रनिङ पढाई छोडेर धामी रोजगारीका क्रममा दुबई पुगेका थिए ।


वैदेशिक रोजगारका क्रममा धामी आर्थिक रुपमा बलियो भएपनि स्वदेशमै रहेर बाल्यकालदेखिको चाहना भने अधुरो जस्तै रहयो । विदेशमा रहँदा उनको स्वदेशमै रहेर कृषि पेशा गर्ने योजना मनमनै बन्यो । करिब डेढ वर्ष विदेशको यात्रा गरेका धामीले विदेशबाट फर्किए लगत्तै कृषि पेशा अगाल्ने थाले । विदेशबाट फर्किएर उनले भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटामा १० बिगाहा जमिनमा व्यवसायिक तरकारी खेती सुरु गरे । उनले अहिले पनि १० बिगाहा जमिनमा तरकारी खेती गर्दै आएका छन् ।

 

१० बिगाहा जमिनमा उनले खुर्सानी, बोडी, साग, करेला, बङ्गाली भण्टा, परबल, भिण्डी, फर्सीलगायतका तरकारी खेती गरेका छन् । सिजनमा लगाउने अन्नबाली भन्दा सिजनसँगै लगाइने बेमौसमी तरकारीबाटै दोब्बर आम्दानी निकाल्न सकिने उनले बताए । “दैनिक जसो आफूहरुले घरायसी तवरमा लगाउने अन्नवाली भन्दा मेहनत अलि धेरै गनुपर्छ” धामीले भने, “घरायसी तवरले लगाइने अन्न बालीको क्षेत्रफलमै तरकारी खेतीले भने अन्नबालीको आम्दानी भन्दा तरकारीबाट दोब्बर आम्दानी हुन्छ ।”


विदेशबाट फर्केर केही आफ्नै ठाउँमा गनुपर्छ भन्ने सोचले विदेश गएका धामी अहिले सोचे अनुसार काम गर्न पाउँदा निकै खुसी छन् । गत वर्ष सुरुको वर्ष भएकोल घाटा व्यहोरेका उनले आत्मविस्वासलाई भने त्यागेका छैनन् । “अघिल्लो वर्ष सुरुको वर्ष जस्तै भयो, ज्ञान सिप भन्ने कुरो पनि केही थिएन, त्यसमा लकडाउन पनि समस्या ग-यो” धामीले भने, “सुरुको वर्ष लगानी बराबर मै रहयो, लगानी बराबर भएपनि सीप र ज्ञानभने केही बढेको छ ।”


एक वर्षको अनुभवले अहिले भने धेरै कुरा सिकाएको धामीले बताए । अत्याधिक रुपमा भारतबाट तरकारी आयात हुने महेन्द्रनगर सदरमुकाम क्षेत्रको लागि तरकारी आफैं उत्पादन गर्ने र भारतीय आयातित तरकारीलाई पूर्ण निस्तेज पार्ने उनको योजना छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको