बर्डफ्लु : जनस्वास्थ्यमा जोखिम
बुधबार, १८ फागुन २०७३
फाइल तस्विर / गेट्टी इमेज
सन् १९९७ अघि कुखुरामा लाग्ने एभियन इन्फ्लुएन्जा भाइरस (बर्डफ्लु) ले मानिसमा कुनै असर पारेको पुष्टि भएको थिएन। तर, १९९७ मा हङकङमा १८ जना मानिस यो रोगबाट प्रभावित भए भने ६ जनाको ज्यान गयो। सन् २००३ देखि कोरिया हुँदै दक्षिणपूर्वी एसियामा बर्डफ्लुको संक्रमण फैलिन थालेपछि यसका आर्थिक तथा मनोसामाजिक असरहरु बढी देखिन थाले। क्रमशः यो रोग मंगोलिया, रुस, मध्यपूर्व, युरोप, अफ्रिका र दक्षिण एसियासम्म फैलियो। यो रोगले विश्वव्यापी महत्व पनि पाउँदै गयो।
बर्डफ्लु लागेका मध्ये ६० प्रतिशतभन्दा केही बढी मानिसको मृत्यु भएको देखिन्छ। यो उच्च प्रतिशतको मृत्युदर नै यस रोगको सबैभन्दा खतरनाक पाटो हो। अहिलेसम्म यो रोग पक्षीबाट मानिसमा सरे पनि मानिसबाट मानिसमा सरेको प्रमाण भेटिएको छैन। यो रोगबाट सबैभन्दा बढी इन्डोनेसियामा एक सय २५, त्यसपछि भियतनाममा ६९, थाइल्यान्डमा १७, चीनमा ४५, इजिप्टमा ६ जना मानिसको बर्डफ्लुका कारण निधन भएको तथ्यांक छ। दक्षिण एसियाली देश पाकिस्तानमा एक जनाको मृत्यु भएको छ। त्यसबाहेक अजरबैजान, कम्बोडिया, इराक, लाओस, नाइजेरिया र टर्कीमा बर्डफ्लुका कारण बिरामीको मृत्यु भएको छ।
बर्डफ्लु नेपालमा सर्वप्रथम सन् २००९ को जनवरी महिनामा देखा परेको थियो। सन् १९९७ मा हङकङमा फेला परेको बर्डफ्लु सन् २०१७ मा आइपुग्दा २० वर्षको भइसक्यो। अर्थात यो दुई दशकमा बर्डफ्लुले हरेक वर्ष आफ्नो संक्रमण फैल्याउँदै लगेको छ। संक्रमण नियन्त्रण गर्न गाह्रो हुँदै गइरहेको स्थिति छ।
जनस्वास्थ्यमा जोखिम
रोगबाट संक्रमित भएका मानिसलाई उपचार गरी निको पार्न अहिलेसम्म प्रभावकारी मानिएका औषधि भूगोल फरक पर्नासाथ त्यसको प्रभावकारिता घट्दै गएको भेटिएको छ। एक ठाउँमा सफल भएको औषधिको प्रयोग अर्को ठाउँमा सफल हुन नसक्ने सम्भावना उत्तिकै छ। जनस्वास्थ्यकर्मीका लागि सबैभन्दा ठूलो चुनौती नै यही हो। कुखुराबाट बर्डफ्लु मानिसमा सर्ने भएकाले पूर्व सतर्कता अपनाउनु नै यसको संक्रमण फैलिन नदिनु हो। सचेतना र सतर्कता अपनाउँदा अपनाउँदै पनि विश्वका ६० भन्दा बढी मुलुकका कुखुरा संक्रमित भई करोडौँको संख्यामा पक्षीजन्य प्रजाति मार्नु परेको छ। मानवीय क्षतितर्फ हेर्ने हो भने, अहिलेसम्मको अभिलेख अनुसार १७ मुलुकका तीन सय ७७ मानिसले मृत्युवरण गरेका छन्। त्यसमध्ये एसियाका मुलुकमा बढी संख्यामा मृत्यु भएको छ।
एचफाइभ एनवानको चर्चा किन?
२०औँ शताब्दीका तीन विश्व महामारीको पृष्ठभूमिलाई हेर्ने हो भने, इन्फ्लुएन्जा ए प्रजातिको उपप्रजाति एचवान एनवान, एचटु एनटु, एचथ्री एनथ्री क्रमशः संलग्न भएको अभिलेख छ। तर, एचफाइभ एनवान उपप्रजातिको यो भाइरसको चर्चा पहिलो पटक सन् १९९७ मा हङकङमा देखा परेपछि सुरु भएको हो। २१औँ शताब्दीको सुरुवाति वर्षदेखि चर्चामा आएको बर्डफ्लु रोग यो २० वर्षमा पनि मानिसबाट मानिसमा सरेको प्रमाण नभेटिनु चाहिँ मानव स्वास्थ्यका लागि सुखद पक्ष नै हो।
विश्व स्वास्थ्य संगठन, विश्व पशु स्वास्थ्य संगठन, विश्व स्वास्थ्य तथा कृषि संगठनजस्ता अन्तर्राष्ट्रिय निकायहरुले बर्डफ्लुको सम्भावित संक्रमणबारे काम गरिरहेको छन्। संक्रमणबाट हुनसक्ने सम्भावित मानवीय क्षति कम गराउनका लागि अन्तर्राष्ट्रिय संघसंस्थाले हातेमालो र सहयोग जारी राखेका छन्।
पक्षी तथा पक्षीजन्य सामाग्रीहरुको सम्पर्कमा निरन्तर रहनुपर्ने मानिस सधैँ बर्डफ्लु रोगको उच्च जोखिममै रहन्छ। विशेष गरी, कुखुरापालक किसानले बढी जैवीक सुरक्षाका उपाय अपनाउनुपर्छ। यसबारे बेलैमा सूचना प्रवाह, पक्षीको शंकास्पद मृत्यु भएमा तत्काल रोगको निदान, कुनै ठाउँमा बर्डफ्लुको संक्रमण पुष्टि भए तीव्र नियन्त्रण कार्य जस्ता कुरामा ध्यान पुर्याउनुपर्छ। भनिन्छ नि, ‘बर्डफ्लुबाट सतर्क हुनुहोस् तर नआत्तिनुहोस्।’
सन् २०१३ मा चीनमा यो भाइरसले आफ्नो अनुवंशिक संरचना परिवर्तन गरेका कारण नियन्त्रणमा निकै हम्मेहम्मे परेको थियो। यदि, विषाणूले स्वरुप परिवर्तन गरी मानिसबाट मानिसमा सर्न सक्यो भने त्यो विश्व स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ। यही उच्च प्रतिशतमा मृत्युदर कायम रह्यो भने कति मानिसको मृत्यु होला भन्ने चिन्ताले नै यो रोगलाई अति महत्वपूर्ण मानिएको हो।
(डा. कार्की एमभिस्टी प्रिभेन्टिम भेट मेडिसिन सेन्ट्रल लुजोन स्टेट युनिभरसिटी फिलिपिन्समा आबद्ध छन्)
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्