देशभरबाट आएका पाँच हजार नर्सले राजधानीमा शक्ति प्रदर्शन गर्दै

बिहिबार, २६ फागुन २०७३

फाइल तस्वीर


काठमाडौं- नर्सहरुको समस्या समाधानमा सरकार, नेपाल नर्सिङ काउन्सिल र नेपाल नर्सिङ संघले कुनै चासो नदिएको भन्दै नर्सहरुले आन्दोलन चर्काउने भएका छन् । नर्सहरुमाथि भैरहेको श्रम शोषणविरुद्ध आवाज उठाइरहेका नर्सहरुले शनिवार राजधानीमा वृहत प्रदर्शनी गर्ने भएका छन् ।

 

अस्पतालहरुले भोलेन्टियरका नाममा नर्सहरुको श्रम शोषण गरेको भन्दै नर्सहरु त्यसको विरोधमा एकजुट भएका हुन् । उनीहरुले यसका लागि नर्सिङ संघर्ष समिति नै बनाएका छन् । संघर्ष समितिले स्वास्थ्य मन्त्रालय, काउन्सिल र संघलाई भोलेन्टियर नर्सको समस्या समाधान गर्न ६ महिना अगाडि नै अल्टिमेटम दिएको थियो । 

 

तर, उक्त विषयमा केही काम अगाडि नबढेपछि समितिले शनिवार राजधानीमा बृहत प्रदर्शनी गर्दै काउन्सिल र संघमा ताला लगाउने तथा मन्त्रालय परिसरमा धर्ना दिने तयारी गरेका हुन् । संघर्ष समितिकी संयोजक जिता बरालका अनुसार शनिवारको प्रदर्शनमा राजधानीमा देशभरका पाँच हजार नर्स उत्रिने छन् ।

 

उनका अनुसार शनिवार नर्सिङको लाइसेन्सिङ परीक्षा ११ बजेसम्म चल्ने र त्यसपछि परीक्षा दिन आएका सबै नर्सहरुले मन्त्रालय, काउन्सिल र संघमा धर्ना दिने कार्यक्रम तय भएको छ । धर्ना कार्यक्रममा परीक्षा दिने नर्सहरुसहित विभिन्न कलेजमा अध्ययनरत, भोलेन्टियर र न्युन पारिश्रमिकमा कार्यरत नर्सहरु समेत सहभागि हुने छन् । ‘अब पनि चुप बसेर हुन्न,’ उनले भनिन्, ‘हामी नर्स एकजुट नभएर नै सबैले हेपेका हुन् । अब हाम्रो आवाज बुलन्द हुनेछ । शनिवार राजधानीमा हामीले शक्ति प्रदर्शन गर्नेछौँ ।’ 

 

बरालका अनुसार शनिवार सांकेतिक रुपमा मन्त्रालयमा धर्ना दिने र काउन्सिल तथा संघमा भने माग पूरा नभएसम्म तालाबन्दी जारि राख्ने कार्यक्रम तय भएको छ । धर्ना कार्यक्रम अगाडि नर्सहरुले नर्सिङ संघदेखि काउन्सिलसम्म र्‍याली समेत गर्ने छन् ।

 

बरालले शनिवारको धर्ना कार्याक्रमका लागि एक सय जना नर्सलाई नेतृत्व तालिम समेत दिइएको जानकारी दिइन् ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको