मुस्ताङ दुर्घटनाका घाइतेको उपचार गर्न नमान्ने एक अस्पताल : मणिपाल शिक्षण अस्पताल
आइतबार, १० बैशाख २०७४

पोखरास्थित चर्चित मणिपाल शिक्षण अस्पतालले मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न अस्वीकार गरी फर्काइदिएको छ । कागबेनीमा भएको दुर्घटनालगत्तै हेलिकोप्टरबाट शनिबार दिउँसो पोखरा ल्याइएका घाइतेलाई मणिपालले आपतकालीन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
कागबेनीमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका १५ जनालाई सेनाको हेलिकोप्टरबाट मणिपाल अस्पताल ल्याइएको थियो । ‘हामी उपचार गर्न सक्दैनौं भनेर घाइतेलाई लिनै मानेनन्’, वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो, ‘डाक्टरहरू आन्दोलनमा छन् भनेर त्यहाँका सिनियर व्यक्ति नै आएर भन्नुभयो ।’ त्यसको केही समयमा एयरपोर्टलगायत ठाउँका एम्बुलेन्स बोलाएर घाइतेलाई पोखराकै अरू अस्पतालमा लगिएको जानकारी उहाँले दिनुभयो ।
मणिपालमा उपचार नभएपछि फिस्टेल हस्पिटलमा ९, गण्डकी मेडिकल कलेजमा ४, मेट्रोसिटीमा १ र फेवासिटीमा १ जना घाइतेलाई उपचारका लागि लगिएको थियो । मणिपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. बीएम नागपालले डाक्टरहरूको आन्दोलनका कारण इमर्जेन्सीमा समेत बिरामी लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘३/४ महिनादेखि डाक्टर आन्दोलनमा छन्, इमर्जेन्सी उहिल्यैदेखि बन्द छ, कसरी उपचार गर्न सक्नु ? ”हामी नभए पनि त्यहाँ काम गरिरहेका डाक्टरले घाइतेको उपचार गर्नुपथ्र्याे, किन गरिएन भन्ने प्रश्नको जवाफ मणिपाल व्यवस्थापनले दिनुपर्छ ।’ -डा. दीपक कोइराला
डाक्टरहरूको आन्दोलन सुल्झाउन जिल्ला र क्षेत्रीय प्रशासन हुँदै स्वास्थ्यमन्त्री र त्यसभन्दा माथि ध्यानाकर्षण गराउँदा पनि केही हुन नसकेको गुनासो डा. नागपालले गर्नुभयो । ‘आजको घटना यहाँको आन्दोलन सुल्झाउन कतैबाट पहल नहुँदाको नतिजा हो’, उहाँले अन्नपूर्णसँग भन्नुभयो । डाक्टर आन्दोलनको निकास निकाल्न काठमाडौं विश्वविद्यालय, मेडिकल काउन्सिल मात्र नभएर प्रधानमन्त्रीसमेत गुहारिसकेको तर कतैबाट केही नभएको नागपालले दुःख व्यक्त गर्नुभयो । काममा नियमित रहेका केही भारतीय र नेपाली वरिष्ठ डाक्टरबाट बहिरंग सेवा मात्रै चलाउन थालेको थुप्रै समय भएको उहाँले बताउनुभयो ।
आन्दोलनमा रहेका एक डाक्टर दीपक कोइरालाले त्यत्रो ठूलो दुर्घटनाका घाइतेलाई आन्दोलनले ठप्प अस्पतालमा विना पूर्वजानकारी लैजानु नै गल्ती भएको बताउनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘हामी नभए पनि त्यहाँ काम गरिरहेका डाक्टरले घाइतेको उपचार गर्नुपर्थ्यो, किन गरिएन भन्ने प्रश्नको जवाफ मणिपाल व्यवस्थापनले दिनुपर्छ ।’ अस्पतालजस्तो महत्वपूर्ण क्षेत्रमा माग राखेर गम्भीर बिरामीको उपचार नै नगर्नु डाक्टरको नैतिकता हो कि होइन भन्ने उहाँले बताउनुभएन ।
स्थायी गरिनुपर्ने, तलब वृद्धि गरिनुपर्नेलगायत माग राखेर मणिपालका ३५ जनाभन्दा बढी नेपाली डाक्टर तीन महिनाभन्दा बढी समयदेखि आन्दोलनमा छन् । आन्दोलनले मणिपाल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी र अस्पताल पुग्ने बिरामी दुवै मर्कामा परेका छन् । मणिपालको आन्दोलनको निकास निकाल्न श्रम, प्रशासनलगायत कार्यालयमार्फत स्थानीयस्तरमा भएको पहल सफल भएको छैन । केन्द्रीय स्तरबाट पनि ठोस पहल नभएको अभिभावक, स्थानीय र मणिपाल व्यवस्थापनको गुनासो छ ।
मणिपालमा हाल नेपाली फ्याकल्टीमा ७९ जना डाक्टर छन् । तीमध्ये ५७ जना स्थायी हुन् । ४५ भारतीयमध्ये २४ स्थायी छन् । डाक्टर, कर्मचारी र मजदुर गरी ८ सयभन्दा बढी मणिपालमा रोजगार छन् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
स्वास्थ्यमन्त्री गगन थापालाई प्रश्न : घाइतेको उपचार नगर्ने अस्पताललाई के कारबाही हुन्छ ?
पोखराको चर्चित अस्पताल मणिपालले शनिबार मुक्तिनाथ दर्शन गरी फर्कदै गरेका तीर्थयात्री बोकेको बस दुर्घटनाका घाइतेको उपचार गर्न अटेर गरेको छ।