चितवनमा निजी लगानीमा क्यान्सर अस्पताल खुल्दै
शनिबार, ३१ असार २०७४

चितवन- निजी क्षेत्रमा क्यान्सरको समेत उपचार गराइरहेको यहाँको एनपिआई नारायणी सामुदायिक अस्पतालले ठूलो लगानीमा छुट्टै क्यान्सरको विशेषज्ञ अस्पताल सञ्चालन गर्नेभएको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व अध्यक्ष र कार्यकारी निर्देशक रहिसकेका डा भक्तमान श्रेष्ठको नेतृत्वमा रहेको नारायणी सामुदायिक अस्पतालले नेपालमै सबैभन्दा ठूलो लगानीमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालन गर्न लागेको दाबी गरेको छ।
नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार बर्सेनि नेपालबाट ४० प्रतिशत क्यान्सरका बिरामी विदेश उपचार गर्न जाने गर्दछन् । ती बिरामीलाई समेत रोक्न सक्ने गरी अत्याधुनिक अस्पताल सञ्चालन गरिने उनले बताए।
अस्पताल सञ्चालनका लागि भरतपुर महानगरपालिका–९ गोन्द्राङस्थित राजमार्गबाट एक किलोमिटर दक्षिणतर्फ तीन बिगाहा ६ कठ्ठा जमिनसमेत खरिद गरिसकिएको छ । करिब रु दुई अर्ब लगानी गरी तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याइने श्रेष्ठले बताए।
हाल नारायणी सामुदायिक अस्पतालमा १८० जना लगानीकर्ता रहेका छन् । यसको मातृ संस्थाको रुपमा नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपिआई) रहेको छ । एनपिआई समूहले अस्पतालको नेतृत्व गर्नेछ । यो समूहभित्र झण्डै ७०० लगानीकर्ता रहेको अस्पतालका सञ्चालक चुडामणि खनालले बताए।
विशेषज्ञ चिकित्सक र स्थानीयवासीलाई लगानीका लागि आह्वान गरिएको छ । नपुग रकम बैंकबाट ऋण लिइने खनालले बताउनुभयो । अस्पताललाई प्राइभेट लिमिटेडको रुपमा विकास गरिने जानकारी दिँदै खनालले सर्वसाधारणका लागि पनि शेयर दिइने बताए।
अस्पतालमा मानिसको शरीरमा क्यान्सर भए नभएको पत्ता लगाउने पेटस्क्यान, रेडियोथेरापीको अत्याधुनिक मेसिन (आइजिआरडी), टाउकोको रेडियोथेरापी गर्ने गाफानाइफ, क्यान्सरको जेनेटिक थेरापी गर्ने उपकरणलगायतका अत्याधुनिक उपकरण र शल्यक्रिया कक्ष हुने अध्यक्ष श्रेष्ठले बताए।
भविष्यमा रोवट सर्जरी गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गर्न लागिएको उनको भनाइ छ । रासस
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
भरतपुर अस्पतालले थप्यो करोडौँका उपकरण
भरतपुर अस्पतालले सेवा विस्तारका लागि करोडौँका उपकरण खरिद गरेको छ। नयाँ आर्थिक वर्षसँगै अस्पतालको सेवालाई थप विस्तार गर्न नयाँ उपकरण...
वीरमा क्यान्सर उपचारको अत्याधुनिक टोमोथेरापी रोक्न डाक्टर र व्यापारीको यस्तो खेल
वीर अस्पतालमा क्यान्सर उपचारको अत्याधुनिक प्रविधि ‘टोमोथेरापी’ उपकरण ल्याउन नदिन व्यापारी र केही डाक्टरहरु चलखेलमा लागेको पाइएको छ। ...