कसरी फेल भए यति धेरै ‘विशेषज्ञ चिकित्सक ?

बिहिबार, २९ असार २०७४

 
काठमाडौँ, विशेषज्ञ चिकित्सकहरूको तालिम, अध्ययनसँगै क्षमता पर्याप्त नहुँदा नेपाल मेडिकल काउन्सिलले लिएको विशेष परीक्षामा ७० प्रतिशत डाक्टर फेल भए । गत शनिबार २ सय ३३ जना एमडीरएमएसरएमडीएस पास गरेका डाक्टरहरूले परीक्षा दिँदा १ सय ६४ जना अनुत्तीर्ण भए । यो परीक्षामा ७१ जनाले मात्र पास भएर विशेषज्ञ चिकित्सकको रूपमा मान्यता पाएका छन् । चिकित्सा शास्त्रमा एमडीरएमएसरएमडीएस परीक्षा उत्तीर्ण गरिसकेपछि काउन्सिलद्वारा लिइने अत्यन्त सामान्य परीक्षामा उनीहरू उत्तीर्ण हुन नसकेका हुन् ।
 
चिकित्साशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका चिकित्सकहरूले विशेषज्ञका रूपमा मान्यता पाएर मुलुकमा काम गर्न काउन्सिलद्वारा लिइने यो परीक्षा उत्तीर्ण गर्नैपर्छ । ‘मुलुकमा एमडी÷एमएस ÷एमडीएस पढेर सबैभन्दा न्यून अंकले उत्तीर्ण हुन सक्नेलाई लक्षित गरेर हामीले यो परीक्षाको प्रश्न सोध्ने गरेका छौं,’ काउन्सिलका एक पदाधिकारीले कान्तिपुरसँग भने, ‘सामान्य रूपमा पास गर्नेलाई लक्षित गरेर परीक्षा लिँदा पनि यो स्थिति छ भने अझै कडा गरियो भने त फेल हुने प्रतिशत ९० नाघ्ला ।’ हाल अति सामान्य परीक्षामा विशेषज्ञ चिकित्सक फेल हुने बढ्दो दरले मुलुकमा भएका यस्ता विज्ञहरूको क्षमतामा समेत शंका उत्पन्न भएको छ । ‘कोही यदि बारम्बार फेल भइरहेको स्थिति छ भने यसले आफैं परिणाम देखाउँछ,’ चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाल भन्छन्, ‘परीक्षार्थीहरूसँग उपयुक्त तालिम र अध्ययनसँगै क्षमता पर्याप्त नहुँदा यो स्थिति देखिएको हो ।’ विशेषज्ञ चिकित्सकका रूपमा मान्यता दिन लिइने यो जाँचमा ‘प्रयोगात्मक परीक्षा’ समेत सामेल गर्दा उत्तीर्ण हुनेहरूको संख्या अझ कम हुने दाबी विज्ञहरूको छ । हाल मुलुकमा काउन्सिलद्वारा लिइने विशेष परीक्षामा मात्र ‘ज्ञानको जाँच’ भइरहेको छ । यो परीक्षामा उत्तीर्ण भएकालाई ‘प्राक्टिकल’ जाँचसमेत लिएर पास गरे मात्र विशेषज्ञ चिकित्सकको रूपमा काम गर्न मान्यता दिनुपर्ने डा. अग्रवाल बताउँछन् ।
 
उनी सीपसँगै व्यावहारिक जाँचमा समेत उत्तीर्ण हुने व्यवस्था गरे मात्र गुणस्तर बढ्ने दाबी गर्छन् । काउन्सिल स्रोतका अनुसार स्नातकोत्तरमा अध्ययन गर्न अधिकांश न्यून गुणस्तरका डाक्टरहरू मुलुकमा भर्ना पाउन नसक्दा विदेश जान्छन् । छात्रवृत्तिमा विदेश पढ्न जानेहरू नगण्य छन् । यस पटकको परीक्षामा धेरैजसो यसअघि पनि जाँचमा सरिक भएका र विदेशबाट स्नातकोत्तर गरेकाहरू थिए । विदेशमा स्नातकोत्तरमा भर्ना लिएपछि उनीहरू पास भएरै मुलुक फर्कन्छन् । अधिकांश फेल हुने गरेका छैनन् । अझ फिलिपिन्समा त परीक्षा नै नलिइने काउन्सिलले जनाएको छ । एमबीबीएसदेखि नै पैसाको भरमा पढेर थप विज्ञताका लागि एमडी÷एमएस ÷एमडीएसमा समेत पैसाकै भरमा पास गरेकाहरूले गर्दा यस पटकको परीक्षा परिणाम भयावह देखिएको काउन्सिलका अर्का एक पदाधिकारीले बताए । सबैभन्दा नराम्रो स्थिति देखिनेमा छिमेकी मुलुक चीनबाट स्नातकोत्तर गरेकाहरू छन् । त्यहाँबाट स्नातकोत्तर गरेर परीक्षामा सहभागी १ सय ३१ जनामा १ सय ११ जना फेल भए । करिब ८५ प्रतिशत फेल भएका हुन् । अर्थात् २० जना मात्र उत्तीर्ण भए । ‘विदेशमा गएर पढ्छन्, त्यहाँ राम्रो तालिम छैन, न त भाषा बुझ्छन्, बिरामी जाँच्न पनि पाउँदैनन् तर डिग्री लिएर फर्कन्छन्,’ डा. अग्रवाल भन्छन्, ‘धेरैजसो विदेशमा गएर स्नातकोत्तर गर्नेहरू कोही फेल भएको हामीले देखेका छैनौं, त्यहाँ पैसा लिएर डिग्री दिनेजस्तो काम भइरहेको छ ।’ यसपटक नेपालबाट स्नातकोत्तर गर्नेहरूको स्थिति पनि राम्रो देखिएन । आफ्नै मुलुकबाट स्नातकोत्तर गरेका १८ जनाले परीक्षा दिँदा १० जनाले मात्र पास गर्न सके ।
 
अर्थात् मुलुकबाट पढेकाहरूमध्ये ४५ प्रतिशत फेल भए । बाहिर पढ्नेहरूमा मात्र नभई मुलुकमा समेत पैसाको बलमा भर्ना लिइने गरेको अवस्था औंल्याउँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा.अन्जनी झा थप्छन्, ‘हाल पनि स्नातकोत्तर तहमा पैसाको बलमा कि मेरिटमा भर्ना भनेर लडाइँ जारी नै छ ।’ ‘यतिका संख्यामा फेल हुनुको मुख्य कारण पढाइकै कमजोरी हो,’ डा. झा भन्छन् ‘मेरिट भएकाहरूलाई मात्र स्वदेश वा विदेशमा पढ्न जान दिनुपर्छ । अझ प्रवेश परीक्षामा ६० प्रतिशत ल्याएकाहरूले मात्र स्वदेश वा विदेशमा पढ्न पाउँदा स्थितिमा केही सुधार हुने थियो कि ?’ काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटाले विशेषज्ञ चिकित्सकको गुणस्तरमा सुधार ल्याउन चिकित्साशास्त्रमा स्नातकोत्तर तहमा विदेशमा पढ्न जानेहरूलाई समेत सन् २०१८ देखि मुलुकमा लिइने स्नातकोत्तर प्रवेश परीक्षामा ५० प्रतिशत ल्याएर उत्तीर्ण भए मात्र पढ्न जान दिने अनिवार्य व्यवस्था हुन लागेको बताए । यस्तै काउन्सिलले एमबीबीएस गरेकाहरूले लाइसेन्स परीक्षा १० पटकमा उत्तीर्ण नगरे उनीहरूलाई मुलुकमा चिकित्सा गर्ने लाइसेन्स नदिने नियम एमडीरएमएसरएमडीएस गरेकाहरूका लागि समेत बनाउने तयारी गरिरहेको छ । यस पटकको परीक्षामा पहिलेदेखि नै अनुत्तीर्ण भएकाहरू बढी सहभागी भएको काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले बताए ।
 
‘एमबीबीएसदेखि नै सक्षम र गुणस्तरीय विद्यार्थीले मात्र चिकित्साशास्त्र पढ्न पाउनुपर्ने व्यवस्था हुनुपर्छ,’ डा. बास्कोटाले भने, ‘चिकित्साशास्त्रका विद्यार्थीलाई विभिन्न परीक्षाका माध्यमले विभिन्न स्तरमा राम्ररी छान्नुर्पयो, पढ्दा समेत राम्रो अनुगमन हुनुर्पयो, अन्तिम परीक्षा कडा बनाउनुर्पयो अनि मात्र गुणस्तरीय उत्पादन हुन्छ ।’ आम नेपालीको गुणस्तरीय स्वास्थ्यउपचारलाई सुनिश्चित गर्न काउन्सिलले विशेष परीक्षालाई थप गुणस्तरीय र कडा बनाउन समेत गृहकार्य गरिरहेको उनले जनाए ।
 
(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

भरतपुर अस्पतालले थप्यो करोडौँका उपकरण

भरतपुर अस्पतालले सेवा विस्तारका लागि करोडौँका उपकरण खरिद गरेको छ। नयाँ आर्थिक वर्षसँगै अस्पतालको सेवालाई थप विस्तार गर्न नयाँ उपकरण...

भावी बच्चाका लागि आफ्नो अण्डा फ्रिज गर्दै शिक्षित महिलाहरु !

एक अमेरिकी अध्ययनका अनुसार विवाहका लागि शिक्षित पुरुषको कमीका कारण पेशेवर तथा उच्च शिक्षा अध्धयनरत महिलाहरु भावी स्वस्थ बच्चाको लागि...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको